प्रथम कालिका गोल्डकप बैशाख १ गतेदेखि
चितवन – चितवनको कालिका नगरपालिकामा ‘प्रथम कालिका गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटीको आयोजनामा बैशाख १ गतेदेखि प्रथम कालिका गोल्डकप हुने भएको हो ।
यस अघि चैत्र २१ गतेदेखि कालिका ४ स्थित क्याम्पस खेल मैदानमा उक्त प्रतियोगिता सुरु हुने तालिका थियो । तर सोही समयमा सोही मैदानमा राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने भएकोले प्रतियोगिता १० दिन पछाडि धकेलिएको आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराइ खेल र खेलाडीलाई थप व्यवसायीक बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको कमिटीका अध्यक्ष पूर्ण चौधरी (निशान) ले बताए । प्रतियोगितामा चितवनका ६ सहित बिभिन्न जिल्लाका १२ टोलीको सहभागीता रहने उनले जानकारी दिए । सहभागी टिममा बिदेशी खेलाडी समेत रहनेछन् ।
प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । प्रतियोगिता भरको उत्कृष्ट खेलाडीले वाइसाइकल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३-३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया