काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नुपर्ने बताएका छन् ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्याउनुपर्ने बताएका हुन् ।
विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उनले उल्लेख गरे । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिए ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका चार हजार २५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामग्री, सूचना–प्रविधि, ल्याब तथा पुस्तकालय, नवीन प्रविधि, विशेष विद्यालय र भौतिक पूर्वाधार तथा शैक्षिक विकास शीर्षकमा बजेट विनियोजन गरिएको उनले बताए ।स्वास्थ्यसम्बन्धी प्रबन्धसहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए ।