नेपाल पक्षले बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने
हेटौंडा – बागमती प्रदेशसभा सदस्य एवं एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने भएकी छन् । मंगलबार पार्टीले अविश्वास प्रस्ताव फिर्ता लिने विषयमा औपचारिक निर्णय गर्ने र बुधबार काठमाडौंमा हुने संसदीय दलको बैठकमा गएर आफ्नो धारणा राख्ने शाक्यले बताइन् ।
गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड–माधव पक्षका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएसँगै आफूहरु एमालेमा क्रियाशील हुनु परेको र आफ्नै पार्टीको सरकार जोगाउनु आफूहरुको कर्तव्य भएका कारण अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेको उनले बताइन् ।
समय र परिस्थिति बदलिएसँगै पार्टी र एमाले नेतृत्वको सरकारलाई जोगाउनुपर्ने नैतिक जिम्मेवारी आएका कारण सरकार परिवर्तनको निर्णय तत्कालका लागि त्यागेको शाक्यको भनाइ छ । नेतृत्वले सबै नेता तथा सांसदहरुलाई समान व्यवहार गर्न नसकेको, प्रदेशको बजेटमा पनि पक्षपात गरेको, जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण विगतमा आफूहरुले सरकार परिवर्तनको माग गरेको उनले बताइन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षमा लाग्नेहरुको राजनीतिक हैसियत समाप्त पार्न खोजेको आरोपसमेत लगाइन् । एमालेकै नेपाल–खनाल पक्षले पार्टी विपरित काम नगरेको भन्दै उनले विधि, विधान र पद्धतिको पालना गर्न माग गर्दा आफुहरुलाई बिना कारण कारवाही गरिएको आरोप लगाइन् ।
तपाइँको प्रतिक्रिया