नेपालको राजनीतिक महाभारत : को बन्दैछ कौरब र पाण्डब ?

राजु सापकोटा
को कौरब ? को पाण्डब ? छिट्टै टुङ्गो लाग्ला ? छ शक्ति यो स्विकार गर्ने ? कि को दुर्योधन ? को युधिष्टिर ? छ सत्य स्विकार गर्ने क्षमता ? छ भने ठिकै छ । होइन भने प्रतिक्षा गरौं । त्यो क्षण सन्निकट नै छ । एकापसको दोसारोपण केही दिनलाई नै सही । विश्राम दिउं । केही प्रलय हुन्छ र ? अवश्य हुन्न ।
एक अर्थमा भन्नु पर्दा जुन राजनीतिक घट्नाक्रम नेपालमा अहिले भइरहेका छन । त्यो महाभारत भन्दा कम छैन । जहाँ पाण्डब , कौरब, सकुनी, कर्ण सबै पात्र (आ– आफ्नो बुझाई अनुसार) छन । जहाँ घोत्लिएर खज्यो भनें द्रौपदीको असफल वस्त्र हरणको चित्र पनि भेटिन्छ । र श्रीकृष्णको रुपमा त्यो अवैधानिक कार्य असफल पारेको पनि बुझिन्छ ।



को दुशासन ? को कृष्ण ? घट्नाक्रमलाई जोडि हेर्दा अवश्य बुझिन्छ । बस जित कसको होला ? त्यो बहुप्रतिक्षित विषय बन्न पुगेको छ । फरक यत्ति हो । द्वापर युगमा महाभारतका दौरान कुनै दृश्य कैद हुन सकेन । अहिले यो कलीयुगमा सबै प्रमाण कैद रहनेंछन । भावी सन्ततिका लागि । हर एक घट्नाक्रमको एक–एक रेकर्ड रहनेंछन । यसलाई बिडम्बना मान्ने वा अरु केही तपाइकै खुशी । तर रेकर्ड त रहने नै भो ।
सत्य हार्दैन ! सत्य मर्दैन !
सत्य त आखिर सत्य हो । जो अमर छ । अजेय छ । कसैले लुकाएर । छिपाएर त्यो छुप्नेवाला छैन । कुनै एकदिन अवश्य प्रकट भई नै हाल्छ । बस ! यहाँ पनि कुरो आउँछ इन्तजारको । सो त गर्नु नै छ । जसले जस्तो कर्म गर्छ । उसले त्यस्तै फल प्राप्त गर्ने हो ।
आलु रोपेर टमाटर फलेको कहिँ , कतै देखिएको छ ? छैन नि ? हो त्यस्तै यहाँ पनि पात्रको कर्म जस्तो छ । त्यस्तै परिणाम भोग्ने हो । अझ भनौं । जस्तो पाप उस्तै दण्ड । त्यो पापी को हो ? आ– आफ्नो झुकाव अनुसार बुझौं । र मनन गरौं ।
जित सत्यकै हुनेछ । सत्यको जित हुँदा पद र शक्ति कसको जान्छ ?, कसका योजना विफल हुन्छन ? ब्यग्रताका साथ प्रतिक्षा गरौं । क्लाइमेक्समा देखिने दृश्यले कुनै एक पक्षलाई कडा झट्का दिँदैछ । को कौरब ? र को पाण्डब ? छिट्टै फैसला हुँदैछ ।
त्यस अघिका जति पनि दृश्य छन ति धारावाहीक श्रृंखलाको मध्यान्तर पछिको केही भाग मात्रै हो । जुन अझै बाँकी छ । अहिले नै लड्डु नखाम । खाईसकेकाहरुले पनि पाठ सिकुन । नखाएकाहरु औधी प्रफुल्लित पनि नबनौं । किनकि खेल अझै बाँकी नै छ ।
को हिरो ? को भिलेन ? तय हुन बाँकी नै छ । कसैलाई लाग्दो हो कि हाम्रो जित भैसक्यो । त्यसरी त कदापि सोँच्दै नसोँचौ । किनकि यो राजनीति हो । यहाँ हर कुरो संभव छ । यसबारे बेलिबिस्तार लगाइरहनु नपर्ला ।
संविधान बनाउँदाको दुरदर्शिता र वर्तमान परिघटना
संविधान बनाउँदा नै कि त एकदलीय बलियो सरकार । कि त बहुदलीय बलियो सरकार । नभए संसद बिघटन । अनि नयाँ चुनाव । कुरो प्रष्ट छ । एकदलीय शक्तिशाली सरकार त चलिसक्यो । जसको नेतृत्व केपी शर्मा ओलीले गरे ।
शुरुमा अढाई (२.५) बर्षको मात्रै प्रधानमन्त्री बन्ने अठोट गरेका उनले आधा वर्ष जति बढि नै चलाइसके । विगतमा ओली नै हुन जसले आलोपालो प्रधानमन्त्री बन्ने भनि प्रचण्डसंग लिखित सम्झौता नै गरेका थिए । भलै उक्त सम्झौता प्रचण्डले नै भंग गरेका नै किन नहोउन । सम्झौता त भएकै थियो । कि थिएन ? कुरो छर्लङ्ग छ ।
गूगलमै गएर हे¥यो भने पनि उक्त लिखित सम्झौता भर्खर भेटिन्छ । ओली नेतृत्वको वर्तमान सरकार जो आफ्नै घर झगडाका कारण धरापमा परेको अवस्था छ । यस्तोमा अवश्यक छ बहुदलीय शक्तिशाली सरकारको । यस्तोमा त चुनाव ठिक हुन्छ नि ? भन्नेंहरुसंग पनि मेरो बिमति छैन । तर उनिहरुलाई मेरो प्रश्न छ । ५ वर्षे कार्यकाल सकिन दुई बर्षअघि नै मुलुकको ढुकुटीबाट खरबौँ रुपैयाँ किन सक्ने ? अहिलेको परिस्थिति नियाल्दा शक्तिशाली बहुदलीय सरकार बन्ने अधिक संभावना देखिन्छ । यदि जसपा (राजपा + समाजवादी) ले चाह्यो भने ।
तासको घर बनाउने कि ? भूकम्प प्रतिरोधात्मक घर ? रोजाइ जसपाको । किनकि अहिलेको किङ मेकर उही हो । पछिल्लो घट्नाक्रम हेर्दा जसपा एक रहे कांग्रेस माओवादीसंग । फुटे ओलीसंग हुने संभावना पनि देखिँदैछ ।
कसले कस्तो खालको जोखिम मोल्लान त्यो त हेर्नै बाँकी छ । तर, ‘पाडो पाएनि ब्याउती, पाडी पाएनि ब्याउती’ हुने परिस्थितिमा घर नै भत्काएर सत्तारोहण त्यो पनि चानचुन डेढ वर्षको लागि । त्यो बाटो सायदै हिड्ला कोही । के होला त आखिर यो महाभारतमा ? श्रृंखला अवलोकन गर्दै जाउँ ।
तपाइँको प्रतिक्रिया