आज बेलुकासम्म बङ्गलादेशबाट रासायनिक मल नेपाल आइपुग्ने

एटुजेड समाचार

काठमाडौं – नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौताअनुसार पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल मध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मल मध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उनले जानकारी दिए । यसैगरी आज पुनः रेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बङ्गलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौताअनुसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो ।तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महिनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

पर्याप्त मौज्दात

धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्री वितरण शुरु हुने बताइएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु