पुनम गौतम,
पोर्तुगल – महिलाको विषयलाई लिएर सरकार संवेदनशिल नभएको अधिकारकर्मी महिलाहरुले आरोप लगाएका छन् । महिला हिसांका सवालमा अपराधलाई पार्टीले कहिलेसम्म संरक्षण गर्ने भन्दै अधिकारकर्मी महिलाहरुले परदेशबाट महिलाका सुरक्षा र चुनौतीको बारेमा शिर्ष नेताहरुलाई प्रश्न गरेका छन् ।
नेपाली नारी समाज पोर्तुगलले १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आईतबार पोर्तुगलको राजधानी लिस्वनमा आयोजना गरेको “महिला सुरक्षा र चुनौती” विषयक जुम भर्चुअल विचार गोष्ठीमा बोल्दै अधिकारकर्मी सदनमा महिलाको विषय सहि तरिकाले उठान हुन नसकेको बताए। पछिल्लो समय दिनानुदिन बढ्दै गएको बलात्कारपछिका हत्याले आम नेपाली महिलाहरु त्रासपूर्ण जिवनयापन गर्न बाध्य भएका उनिहरुले गुनासो गरे ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोईरालाले अपराध र अपराधीलाई कुनै पनि पार्टीले संरक्षण गर्न नहुने बताईन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी कोईरालाले नेपालमा महिलाहरुको अवस्था अत्यन्त नाजुक रहेको र कोरोनाका कारण महिलाहरुमाथि घरेलु हिसां झन बढेको बताईन् । साथै उनले नाबालक बालिकादेखि वृद्धाहरुसम्म हुने बलात्कारका घट्ना बढ्दै गइरहदा पनि सरकारले किसिमको पहल कदमी नचालेको र अपराधी कारबाहीको दायरामा आउन नसकेको बताईन् ।
३३ प्रतिशत महिलाहरुले संसदमा प्रतिनिधित्व गरेता पनि विकट ठाउँका महिलाहरु माझ भने पहुच पुग्न नसकेको उनको भनाई थियो । पार्टीगत रुपमा पनि महिलाहरुको विभिन्न संगठनहरु मार्फत आवाज उठाएर यसलाई शसक्त बनाएर लैजानुपर्नेमा उनको जोड थियो । यस्तै उनले महिलाले महिलालाई नै सहयोग गर्नुपर्ने बताउदै महिलाले त्यसो नभएसम्म महिला अगाडी बढ्न नसक्ने तर्क राखिन् ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सरकारले मृत्युदण्डको कानुन ल्याउनुपर्ने बताईन् । सरकारको प्राथमिकतामा महिलाको ज्यान नपर्ने भन्दै रेग्मीले पछिल्लो समय आफन्तबाट नै छोरीहरु सुरक्षित नरहेको गुनासो गरिन् । यौन शिक्षा दिन हिचकिचाउन नहुने र हिंसा न्युनिकरणका लागि कडा कानुनको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । नारी दिवस मनाईरहदा नारीमाथि हुने हिंसाका कारण मन भारी हुने उनको भनाइ थियो ।
बलात्कृत महिलालाई संरक्षण गर्न छाडेर राजनितिक कार्यकर्तालाई ढाकछोप गर्ने प्रबृतिको अन्त्य नभएसम्म महिलाहरु सुरक्षित नहुने नेपाल ल क्याम्पस उपप्राध्यापक अधिवक्ता विष्णु बस्यालले बताईन् । महिलाका पक्षमा वकालत भएता पनि विषयलाई सहि तरिकाले उठान गर्न नसकेको अधिवक्ता बस्यालको भनाइ छ ।
भर्चुअल गोष्ठीमा सहभागी महिलाहरुले परदेशबाटै भएता पनि एकजुट भएर महिला हिंसाका विरुद्धमा लाग्ने अठोट गरेका छन् । सहभागीहरुले हरेक दिन हुने बलात्कार र हत्याका घटनाले बिदेशमा बस्ने नेपालीहरुको मन बिछिप्त हुने गरेको बताए । आफुहरुको आवाज सदनसम्म पुर्याइदिन आग्रह गर्दै उनीहरुले बलत्कारीको कुनै नाता नहुने भन्दै अपराधीलाई फासी दिनुपर्ने माग समेत गरेका छन् ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) पोर्तुगलका अध्यक्ष तिलक गैरे, नेपाल पत्रकार महासंघ तथा प्रेस यूनियनकी केन्द्रीय सदस्य सिर्जना अर्याल, चेली माईती समूहकी संयोजक ईन्दिरा निरौला, जि.पी फाउण्डेसन पोर्तुगलका सभापति सुशील शर्मा गैरे, जनसम्पर्क समिति पोर्तुगलका कार्यकारी सभापति वकिल के.सी, जनसम्पर्क समिति बेल्जिएमकी सभापति तथा क्याट बेल्जिएमकी पूर्व अध्यक्ष सिता सापकोटालगायत नेपाल, स्पेन, अमेरिका, लण्डन, अष्ट्रिया, नर्वे, जर्मन, स्विजरल्याण्ड, कतार, साउदी अरब, इजरायल, साइप्रस लगायत १५ देशका गरी उक्त गोष्ठीमा १५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।
गोष्ठीमा नेपाली कांग्रेस महिला विभागकी केन्द्रीय सचिव लक्ष्मी खतिवडा, समाजकी बैधानिक सल्हाकार तथा लैड्डिक विशेषज्ञ डाक्टर ज्योति तुलाधर, नेपाल सरकार पोर्तुगलका लागि पर्यटनदुत रमेश गुरुङ, आवासीय नेपाली संघकी उपाध्यक्ष रबिना थापाले शुभकामना सन्देश पठाएका थिए । कार्यक्रमको उद्देश्यबारे नेपाली नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सिता बरालले प्रकाश पारेकी थिईन् । समाजकी उपाध्यक्ष विद्या आर्चाय (बिमला) ले स्वागत राखेको कार्यक्रम कार्यवहाक अध्यक्ष मिनामाया खरेलको अध्यक्षतामा सम्पन्न भएको हो । ८ मार्चका दिन मनाईने नारी दिवस यसवर्ष भने पोर्तुगलमा रहेको लकडाउनलाई मध्यनजर गर्दै भर्चुअल मार्फत अघिल्लो दिन नै मनाईएको हो ।