चितवन – कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आज (आइतबार) देखि सुरु हुँदैछ । ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने छ ।
चितवनमा ७३ खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सन्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ ।चितवनमा अहिले ६० वर्षमाथिका ६५ हजार ६०६ रहेका छन्।
यस तथ्याङ्कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिनुभयो । खोप अभियानमा ४७९ स्वास्थ्यकर्मी परिचालन हुने छन् । यसमध्ये २५१ तालीम प्राप्त स्वास्थ्यकर्मी र २२८ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन् । अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ ।
दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ । अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ । पहिलो चरणमा चितवनमा १३ हजार ५०० ले खोप लगाएका थिए । पहिलो चरणको पहलिो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए ।