चितवन – नारायणगढ मुग्लिन सडकखण्ड आज (आइतबार) देखि एक साताका लागि दिउँसोको समयमा बन्द रहने छ । पहिरो व्यवस्थापनको बाकी रहेका काम सम्पन्न गर्नका लागि उक्त सडक २९ गतेसम्म बिहान १०:३० देखि ३:०० बजेसम्म बन्द हुने भएको हो ।
चारकिलोमा पहिरो रोकथामको आवश्यक बाकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सो अवधिमा नारायणगढबाट जाने सवारी साधनलाई जलबिरेमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै मुग्लिनतर्फबाट आउने सवारी साधनलाई शान्तीबजारमा रोकिनेछ ।
उक्त अवधीमा सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।चारकिलोमा पहिरोका कारण बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।