काठमाडौं – प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ। वैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आजका लागि आह्वान गरेकी छिन् ।
सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।
सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो। आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।
साथै आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी र गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशलगायत पेश गर्ने सम्भावित कार्यसूची छ।
अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निःसङ्क्रमणको व्यवस्थापन गरेको हो ।