न्यूयोर्क (अमेरिका) ,अन्तरराष्ट्रिय बजारमा शुक्रवार बहुमूल्य धातु सुनको भाउ घटेको छ ।
अमेरिकामा रोजगारी तथ्यांक अपेक्षाकृत राम्रो देखिएसँगै डलर र अमेरिकी ट्रेजरीको प्रतिफल बढेपछि सुनको भाउ दबाबमा आएको हो ।
योसँगै गत हप्ताको कारोबारमा सुनको भाउ लगातार तेस्रो हप्ता पनि घटेको छ । शुक्रवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ न्यूनतम् प्रतिऔंस १ हजार ६८६ डलर शून्य ८ सेन्टमा आएको थियो । यो जुन ८ यताकै न्यून हो ।
कारोबार बन्द हुँदा भने स्पट गोल्ड प्रतिऔंस १ हजार ७०१ शून्य ६ सेन्टमा आएको थियो । यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव २६ प्रतिशत बढी थियो । शुक्रवार यूएस गोल्ड फयूसर्चको भाउ पनि प्रतिऔंस १ हजार ६९८ डलर ५ सेन्टमा आएर बन्द भएको थियो ।
हप्ताभरिको कारोबारमा भने सुनको भाउ करीब २ प्रतिशतले घटेको छ । फेब्रुअरीमा अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा धेरै रोजगारी सृजना गरेको तथ्यांकले देखाएको छ ।
यसले बृहत वित्तीय प्रोत्साहन र खोप कार्यक्रमका कारण अर्थतन्त्रमा छिटै सुधार आइरहेको आशा बढाएको छ ।सुन बजारले माहामारी बीच भएको वृद्धि गुमाएको र यो प्रतिऔंस १ हजार ७०० डलर तल आउनुले बजार कमजोर रहेकोतर्फ देखाएको एचएसबीसीका विश्लेषकहरुले एक नोटमा भनेका छन् । एजेन्सी