चितवन – द आर्ट अफ लिभिङ चितवनले हिन्दु धर्मवालम्बीहरुको महान पर्व शिवरात्रीलाई उत्सवको रुपमा मनाउने भएको छ । शिवरात्रीको अवसरमा फाल्गुन २७ गते आर्ट अफ लिभिङ चितवनले ‘महाशिवरात्री उत्सव’ आयोजना गर्ने भएको हो ।
देशभरका प्रशिक्षक तथा स्वयंसेवकहरुको उपस्थितीमा उक्त कार्यक्रम हुने आर्ट अफ लिभिङ चितवनका संयोजक भोजबहादुर खड्काले जानकारी दिए । उक्त दिन बिभिन्न कार्यक्रमहरु आयोजना हुने संयोजक खड्काले बताए ।
उक्त दिन ख्यातीप्राप्त आध्यात्मिक व्यक्तिहरुको उपस्थितीमा पूर्वीय दर्शन आत्मज्ञान बारे चर्चा हुनेछ । यस्तै महाशिवरात्री बारे चर्चा, योग्याभ्यास, ध्यान एवं प्राणायाम, होम तथा गुरु पूजा र सत्संग तथा शिव भजनलगायतका कार्यक्रम पनि हुनेछन् । सोहि दिन बिभिन्न जिल्लाबाट उपस्थित कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम पनि हुने उनले जानकारी दिए ।
कार्यक्रम धावन रिक्रियसन एवं पार्टी प्यालेसमा दिउँसो १ बजेबाट सुरु हुनेछ । विश्व शान्ति र स्वास्थ्यका लागि उक्त कार्यक्रम आयोजना गरिएको आर्ट अफ लिभिङ चितवनले जनाएको छ।