म प्रधानमन्त्री हुन्छु कि भनेर रामचन्द्र पौडेललाई चिन्ता छ, उहाँ १८ पटक लडेका हुन्: देउवा

एटुजेड समाचार

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जान आफू लालायित नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित विपी कोइराला सामुदायिक अस्पतालको १३ औं साधारणसभामा उनले यस्तो बताएका हुन् ।

‘केही राजनीतिक कुरा उठिहाल्यो मैले नबोलि पनि भएन । बोल्नै पर्यो । हामी सरकारमा जान लालायित छैनौं, मेरो कुरा सुन्नुहोस् । एउटा कुरा के छ भन्नु हुन्छ भने विपक्षी दलको नेता भनेको ‘प्राइमिनिस्टर इन वेइटिङ’ हो नि, उनले भने, सरकार असफल हुँदा उसैको टाउकोमा आउँछ । पहिलो कुरा मैले हुँदैन भनेको छु ।’

तर देउवा प्रधानमन्त्री हुन्छ कि भनेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई चिन्ता हुन थालेको उनको भनाइ छ । ‘ मैले प्रधानमन्त्री हुदिनँ भन्दा पनि प्रधानमन्त्री हुन्छ कि भनेर रामचन्द्रजीलाई चिन्ता लागि सक्यो । उहाँ प्रधानमन्त्री हुन १८ पटक चुनाव लडेका हुन् । १८ पटक लडेको छ, लडेको छ । सफल हुनु भएन । मैले रामचन्द्र हुनुहुँदैन भनेको थिइनँ । उहाँ हारेको छ, हारेको छ ।’

देउवाअघि बोलेका पौडेलले काँग्रेस सरकारमा जान नहुने भन्दै प्रतिपक्षीको हैसियत बिर्सन नहुने बताएका थिए । यसबारे देउवाले भने, ‘अहिले हाम्रो हैसियतै छैन भन्नुहुन्छ । विपक्षी दलको नेता वैकल्पिक प्रधानमन्त्री हो । तै पनि मैले प्रधानमन्त्री खान्छु भनेकै छैन । म प्रधानमन्त्री हुन्छु कि भनेर चिन्ता नगर्नुहोस् । हाम्रो म्यान्डेट नै थिएन । हारेको पार्टी थियो भन्ने होइन विपक्षीसँग सरकार बनाउने म्यान्डेट हुन्छ ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू