काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आज (शनिबार) पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ। हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।
सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने उनले बताए। मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको उनले बताए। सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने छन्।
हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ। परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताइएको छ।