चितवन – कलेजले अनावश्यक शुल्क उठाएको भन्दै भरतपुर स्थित गुरुकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन्। ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले लकडाउनको समयमा कलेज बन्द हुँदाको पनि शुल्क मागेको भन्दै आन्दोलन गरिरहेका छन्।
उनीहरुले बिहीबारदेखि कलेज परिसरमा आन्दोलन गरिरहेका छन्। कलेजले लकडाउनको समयमा भएको अनलाइन कक्षाको बाहानामा विद्यार्थीसंगचर्को शुल्क लिन खोजेको कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले बताए। यस्तै कलेजले विद्यार्थीसंग लकडाउनको समयको यातायत शुल्क, लाइब्रेरी शुल्क पनि उठाएको छ।
“कलेजले हामीसंग लकडाउनको पनि शुल्क मागेको छ, उनले भने, त्यती मात्र होइन यातायात, लाइब्रेरी शुल्क पनि लिन खोजेको छ। ” यस बिषयमा बारम्बार कलेज प्रशासनको ध्यानाकर्षण गराउदा वेवास्ता गरेकोले आन्दोलित हुनु परेको उनले बताए। सोहि कलेजमा अध्ययनरत अर्का एक छात्राले लकडाउनको समयको झनै बढि शुल्क उठाउन खोजेको बताइन। के शिर्षकमा कति शुल्क लिने खोजेको भनि बिल माग्दा कलेज प्रशासनले दिन अस्वीकार गरेको उनले गुनासो गरिन्।
यस्तै उनले सेनेटरी प्याडको पनि कलेजले पैसा लिने गरेको गुनासो गरिन्। “हामीले बिल माग्दा पनि दिनुहुन्न, केही विद्यार्थीलाई सबै गरेर शुल्क एक लाख भयो भन्नुहुन्छ, कसैलाई १ लाख ४० हजार भन्नुहुन्छा उनले भनिन्, प्याड समेत पैसा भएन भने दिदैनन्। कलेज प्रशासन र विद्यार्थीबीच वार्ताको प्रयास भइरहेकोले प्रधानाध्यापकसंग भने कुरा हुन सकेन।