स्व. बिजय खड्गी स्मृति गोल्डकप चैत्र १२ देखि

एटुजेड समाचार

चितवन – लामो समय फुटबलमा बिताएका चितवनका फुटबलर स्व. बिजय खड्गीको स्मृतिमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको हो ।

प्रतियोगिता चैत्र १२ देखि २१ गतेसम्म हुनेछ । चैत्र ५ गतेदेखि प्रतियोगिता सुरु गर्ने भनिए पनि प्राविधिक कारण एक सातापछि सरेको हो । प्रतियोगितामा देशभरका १० टोली सहभागी हुनेछन् । सहभागी हुने टिमको टुङ्गो केही दिन भित्र लाग्ने चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए ।

वैदेशिक रोजगारका क्रममा कतारमा निधन भएका खड्गीको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कार्कीले बताए । खड्गीका छोराको अध्ययन सहयोगार्थ उक्त प्रतियोगिता आयोजना आयोजना गरिएको उनले बताए । प्रतियोगिताबाट संकलित रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिनेछ ।

प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको छ । अहिले मैदान मर्मत तथा प्याराफिट निर्माणको काम भइरहेको छ । प्याराफिट ३ हजार दर्शक क्षमताको हुने एन्फा चितवनले जनाएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले चितवनबाट देशभरका बिभिन्न प्रतियोगिता खेलेका थिए । उनी स्थानीयदेखि राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ट फर्वाडको रुपमा परिचित थिए । फुटबल खेल्दा खेल्दै कमजोर आर्थिक अवस्थामा कारण उनी वैदेशिक रोजगारका लागि कतार गएका थिए । वैदेशिक रोजगारकै क्रममा उनको कतारमा नै मृत्‍यु भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू