चितवन – नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको १० औदिनको पूण्यतिथिमा आज (बुधबार) चितवनमा आयोजित शोक सभामा बोल्दै उनले अहिले नेपाली काँग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसदमा छ त्यसै अनुसार अघि वढ्नुपर्ने बताएका हुन् ।
उनले भने, “बिपक्षी दलको सही भूमिका नेपाली काँग्रेसले निर्वाह गर्नु पर्छ ।” सानो संख्यामा संसदमा भए पनि काँग्रेसको भूमिका ठूलो र जिम्मेवारी पूर्ण रहेको उनको भनाई थियो । काँग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्न सके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरि संसदमा बलियो पार्टी बन्ने पनि बताए ।
स्व. एकनाथ रानाभाटले निष्ठावान रुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नु पर्छ उनको भनाइ थियो । आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको काँग्रेस मात्र रहेको भन्दै उनले भने, “काँग्रेस त्यही अनुसारको आचरण र व्यवहार देखाउनु पर्छ ।” बिकृतिबाट लोकतन्त्रलाई बचाउनु पर्ने उनले बताए । पौडेलले भने “बास्तबमा कसैले आफ्नो हैसियत र औकात भन्दा बढी आकंक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।”
लोकतन्त्रमाथी देशी विदेशी षड्यन्त्र भइरहेको पनी उनले बताए । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सह्रानीय रहेको बताए । कार्यक्रममा पूर्ब सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेशका प्रतिपक्षि दलका नेता कृष्णचन्द्र नेपाली, वागमती प्रदेशका प्रतिपक्षि दलका नेता इन्द्र बानिया, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेस नवलपरासीका सभापति बिष्णु सापकोटा र नेपाली काँग्रस रत्ननगरका सभापति रुपनराज घिमिरेले रानाभाटको राजनैतिक भूमिकाको बारेमा चर्चा गरेका थिए ।