काठमाडौं – गोंगबुमा कृष्णबहादुर बोहराको हत्या प्रकरणकी मुख्य अभियुक्त कल्पना मुडभरीलाई आजीवन कारावास हुने भएको छ । जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मुडभरीलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्। उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।


अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जीवित रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्। त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो।
‘सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ। उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन्। त्यहीँ आधारमा उनले सफाइ पाएकी छन्,’ शर्माले भने।
गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।
शव भेटिए पनि प्रहरीले केही दिन कृष्णबहादुरको पहिचान खुलाउन सकेको थिएन। त्यसपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो। सोही अनुसन्धान पछि प्रहरीले कल्पनालाई पक्राउ गरेको थियो। प्रहरीले कल्पनालाई चितवनको कालिका नगरपालिकाबाट पक्राउ गरेको थियो।