ॠणै ॠणमा रंगशाला, विश्वासकै भरमा काम

एटुजेड समाचार

सुशील पन्त,

चितवन – नेपालीमा एउटा उखान नै छ “ॠण लागोस् तर दिन नलागोस्” । अहिले चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ठ्यक्कै त्यस्तै भइरहेको छ । रंगशालालाई ॠण लागेको छ तर कामै रोकिने दिन भने अहिलेसम्म आउन दिइएको छैन ।

दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण शुरु भएको रंगशालाको काम ॠणै ॠणमा भइरहेको छ । ॠणै ॠण भए पनि निर्माणको काम पनि रोकिएको छैन । धुर्मुस सुन्तली फाउण्डेशनले उधारोमै सामान खरिद गरेर भए पनि कामलाई निरन्तरता दिइरहेको छ ।

सहयोग गर्ने प्रतिवद्धता जनाएका दाताहरुले समयमै पैसा नदिदा अहिले रंगशालाको ॠण ११ करोड भन्दा बढी भइसकेको छ । अघिल्लो महिना ॠण ९ करोड २५ लाख थियो । एक महिना मै ॠण बढेर ११ करोड १७ लाख पुगेको हो ।

रंगशाला निर्माणका लागि अहिलेसम्म जम्मा ३२ करोड ३० लाख २४ हजार ३५४ रुपैयाँ ८० पैसा आम्दानी भएको छ । जबकी अहिलेसम्मको खर्च ४३ करोड ४८ लाख ६ हजार ३८२ रुपैयाँ २३ पैसा छ । आम्दानी भन्दा खर्च ११ करोड भन्दा बढी छ । जुन रंगशालालाई लागेको ॠण हो ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ८ करोड रुपैयाँ फाउण्डेशनलाई दिसकेको छ । यस्तै बागमती प्रदेश सरकारले ३ करोड दिएको छ । यो नै अहिलेसम्मको ठुलो रकम हो । गत आर्थिक वर्षको माघ १६ देखि २७ गतेसम्म भएको धनधान्यान्चल महोत्सवमा ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ बोलकबोल भएको थियो । तर अहिलेसम्म सरकारी निकायबाहेकबाट ८ करोड ९६ लाख २ हजार ४४७ रुपैयाँ मात्र प्राप्त भएको छ ।

फाउन्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार कामदारहरुलाई मात्रै करीब १९ लाख रुपैयाँ मुक्तनी गर्न बाँकी छ । उक्त रकम माघ महिनाको हो । माघ महिनामा २१० जना कामदारहरु थिए । २१० जना कामदारहरुको एक महिनाको पारिश्रमिक करीब १९ लाख हुन्छ । अहिले भने कामदारको संख्या घटेर १४० जना पुगेको छ । अहिले डण्डीको काम मात्र भइरहेकोले कामदारको संख्या घटेको तिमिल्सिना बताउछन् । निर्माण सामग्री खरिद गरेको करीब ११ करोड भुक्तानी गर्न बाँकी छ ।

फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) बजेट अभावका बाबजुत पनि काम भने निरन्तर भइरहेको बताउछन् । तर भुक्तानी गर्नु पर्ने रकम बढ्दै जाँदा भने निर्माण सामग्री खरिद गर्नै समस्या भइरहेको कट्टेल गुनासो गर्छन् । अहिलेसम्म व्यवसायीहरुले विश्वासकै भरमा निर्माण सामग्री पठाइरहेका छन् । “व्यवसायीहरुले विश्वासकै भरमा सामानहरु पठाइरहनु भएको छ, उनले भने, तर उधारो बढ्दै जाँदा पैसा नआउने हो कि भनेर उहाँहरु डराउनु भएको छ । तर पनि मैले विश्वास दिलाएर काम रोकिन दिएको छैन ।”

यस्तै पछिल्लो समय जनस्तरबाट सहयोग उठ्ने क्रम बिस्तारै बढ्दै गएको उनी बताउछन् । लकडाउनपछि बिस्तारै रकम जुट्ने क्रम बढे पनि ठुला रकम भने आउन सकेको छैन । “लकडाउनपछि अहिले राम्रै जुट्दै गएको छ उनी भन्छन्, तर ठुला रकम आउन सकेको छैन । उहाँहरुले आफ्नो दक्ष क्षमता अनुसार सहयोग गरिरहनुभएको छ ।”

यो अवस्थामा पनि काम तोकिएकै समयमा सकिनेमा फाउण्डेशनका अध्यक्ष कट्टेल विश्वस्त छन् । संकटको घडीमा पनि काम नरोकिएकोले तोकिएकै समयमा काम सकिनेमा विश्वस्त रहेको उनको भनाइ छ । “यस्तो संकटको घडीमा पनि काम निरन्तर भइरहेकोले तोकिएकै समयमा काम सकिन्छ भन्ने आत्मविश्वास अझै पनि घटेको छैन, हरेस खाएका छैनौं उनी भन्छन्, गर्नुपर्छ भन्ने भावनाले अघि बढीरहेकोले यो अवस्थालाई सबैले बुझिदिनुहुन्छ भन्नेमा आशावादी छौं ।”

अहिलेसम्म रगंशालाको मुख्य क्रिकेट मैदानको काम ८५ प्रतिशत सकिएको छ । पाँगो माटोको अभावले मैदानको काम केही समय रोकिएको थियो । तर महानगरबाट हालै मात्र २५० टिपर पाँगो माटो प्राप्त भएकोले छिट्टै मैदानको बाँकी काम पनि शुरु हुने फाउण्डेशनले जनाएको । यस्तै ३० हजार क्षमताको हुने भनिएको प्यारापिटको काम ३० प्रतिशत सकिएको छ।

के हुँदैछ धान्यान्चलको बोलकबोल रकम ?

रंगशाला निर्माण सहयोगार्थ गत वर्षको माघ १६ देखि २७ गतेसम्म धनधान्यान्चल महोत्सवमा आयोजना भएको थियो । उक्त धान्यान्चलमा ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ बोलकबोल भएको थियो । फाउण्डेशनका अनुसार धान्यान्चलबाट ८ करोड ९६ लाख २ हजार ४४७ रुपैयाँ मात्र प्राप्त भएको छ ।

धान्यान्चलमा बोलेका मध्ये धेरैले भुक्तानी गरेका छैन् । मुल आयोजक समितिका महासचिव चुके कोभिड १९ कारण बोलकबोल रकम उठाउन समस्या भएको बताउछन् । बिस्तारै अवस्था सामान्य भएसँगै उठ्ने क्रम पनि बढ्दै जाने उनी बताउछन् । सहयोग घोषणा गरेका केहीले एकै पटक सबै रकम दिन नसकेपनी किस्ताबन्दीमा दिने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।

‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु

रंगशालाको कुर्सीमा आफ्नो नाम लेखाउन चाहनेहरुका लागि ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अनुसार कुर्सीमा नाम लेखाउनका लागि न्युनतम १ लाख रपैयाँ रंगशाला निर्माणका लागि सहयोग गर्नु पर्नेछ ।

यो अभियान शुरु भएसँगै सर्वसाधारणले रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सीमा लेखाउन पाउने भएका छन् ।रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने फाउण्डेशको अनुमान छ । यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु