चीनमा ऐतिहासिक मुद्दा : घरको काम गरे वापत पत्नीलाई भुक्तानी गर्न अदालतको आदेश
बीबीसी । बेइजिङको अदालतले एक व्यक्तिलाई विवाहको अवधिभर पत्नीले गरेको घरको काम वापद् भुक्तानी गर्न आदेश दिएको छ । यो ऐतिहासिक मुद्दामा ती महिलाले अब पाँच वर्ष बिना पारिश्रमिक घरको काम गरेकोमा ७ हजार ७०० डलर पाउने भएकी छन् ।
यो घटनापछि यतिबेला चीनमा इन्टरनेटभरि घरेलु कामको मूल्य सम्बन्धी ठूलो बहस चलेको छ । धेरैले सो क्षतिपूर्ति रकम एकदम कम भएको प्रतिक्रिया दिएका छन् ।
अदालतका अनुसार ‘छेन’ थर भएका ती पुरुषले गत वर्ष पत्नीसँग डिभोर्सका लागि मुद्दा दर्ता गराएका थिए । यसमा उनकी पत्नी पहिले डिभोर्स गर्ने पक्षमा थिइनन् । तर, पछि उनले छेनले घरका कामकाज, छोराको जिम्मेवारीमा कहिल्यै कुनै सहयोग नपुर्याएको भन्दै थप आर्थिक क्षतिपूर्तिका लागि अनुरोध गरेकी थिइन् । बेइजिङको फाङसान जिल्ला अदालतले उनको पक्षमा आदेश जारी गर्दै डिभोर्सपछिको गुजारा रकममा मासिक २ हजार युआन र विवाहको अवधिभरि उनले गरेका घरका कामकाजका लागि एकैपटक ५० हजार युआन तिर्न फैसला गरेको छ ।
यसमा न्यायाधीशले विवाह अन्त्य हुँदा पतिपत्नी बीच संयुक्त रुपमा उपभोग हुँदै आएको सम्पति बाँडफाँड गर्नु सामान्य भएको तर यसमा घरका कामकाजको विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
चिनियाँ सामाजिक सञ्जालमा अधिक चर्चामा आएको यो घटनाको ह्यासट्याग मात्र ५७ करोडभन्दा धेरैपटक हेरिएको छ । यसमा एक वेइबो प्रयोगकर्ताले क्षतिपूर्ति रकम थोरै भएको गुनासो गर्दै लेखेका छन्, “पाँच वर्षसम्म फुल टाइम घरको सबै कामकाज गरि सबै जिम्मेवारी उठाएकामा केबल ५० हजार युआन पाउनुले मलाई स्तब्ध बनाएको छ । बेइजिङमा घरमा काम गर्नेलाई एक वर्षको मात्र ५० हजार युआन दिनुपर्छ ।” कतिले पुरुषहरुले घरका कामकाज र जिम्मेवारीलाई पनि बढी प्राथमिकतामा राख्नुपर्ने कुरा उठाएका छन् । त्यस्तै कोहीले सबै महिलालाई विवाहपछि पनि आफ्नो करिअर जारी राख्न सल्लाह दिएका छन् । र सधैँ स्वतन्त्र रहनुपर्ने कुरा नभुल्न पनि आग्रह गरेका छन् ।
आर्थिक सहकार्य तथा विकास (ओईसीडी) का अनुसार चिनियाँ महिलाले कम्तिमा दैनिक ४ घण्टा बिना पारिश्रमिक काम गर्ने गरेका छन् । यो पुरुषको भन्दा २.५ गुणा बढी हो र अन्य ओईसीडी मुलुकको तुलनामा पनि धेरै हुन जान्छ । यसमा महिलाले घरको कामकाजमा पुरुषभन्दा धेरै समय बिताउँछन्, जसवापद् तिनले केही पाउँदैनन् ।
तपाइँको प्रतिक्रिया