प्रधानमन्त्रीद्धारा सुरक्षा परिषद्को बैठक आह्वान, राजनीतिक घटनाक्रम र चुनाव बारे छलफल हुने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । बैठक बिहान ९ बजेका लागि बोलाइएको हो ।
गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइने गरिन्छ । आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले बताएका छन् । नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने बताएका छन् ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ ।
तपाइँको प्रतिक्रिया