चितवनको फलफूल तथा तरकारी बजारमा ४५ जनाले गरे रक्तदान, १०३ ले लिए स्वास्थ्यलाभ

चितवन – भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तरकारी बजार परिसरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि., फलफूल तथा तरकारी थोक व्यवसायी संघ र कृषि प्रवद्र्धन बजार विकास प्रा.लि.को संयुक्त आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामा भइरहेको रगतको अभावलाई केही मात्रामा भएपनि कम गर्न साथै संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै मानवीय सेवाभावको उद्देश्यले सो कार्यक्रम गरिएको सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धिताल (कृष्ण)ले जानकारी दिए । आफ्ना शेयर सदस्य तथा शुभचिन्तक महानुभावहरुको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै जिल्लामा रहेको कलेज अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज) भरतपुरसँगको सम्झौता अनुरुप उक्त कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा ८ महिलासहित ४५ जना रक्तदाताहरुले रगत दिएका थिए भने निःशुल्क स्वास्थ्य परीक्षण १०३ जनाले लिएको संस्थाका व्यवस्थापक विकास पौडेलले बताए । व्यवस्थापक पौडेलका अनुसार शेयर सदस्यहरुको उपचारमा पुरानो मेडिकल कलेजबाट आजैबाट २० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत हुने सम्झौता गरिएको हो । स्वास्थ्य परीक्षण गरिएका १०३ जनाको पहिलो मेडिकल फि छुट हुने उनले भने।
कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुन काठमाडौंका शान्ति अधिकारी, कृषि प्रबद्र्धन बजार विकास प्रा.लि.का अध्यक्ष शालिकराम घिमिरे, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटा, भरतपुर वडा २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, उवासंघका राजेन्द्र ओली, संस्थाका पूर्व अध्यक्ष पुरुषोत्तम गौतम, कलेज अफ मेडिकल साइन्सेसका अतिरिक्त निर्देशकलगायतले मन्तव्य दिएका थिए ।
तपाइँको प्रतिक्रिया