चितवनका उद्योगीलाई श्रम अडिट र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण

चितवन । चितवनका उद्योगीहरुलाई श्रम अडिट र सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण दिइएको छ । बिहिबार चितवन उद्योग संघको आयोजनामा श्रम तथा रोजगार कार्यालय, हेटौडा र नेपाल सरकार सामाजिक सुरक्षा कोषको समन्वयमा उनीहरुलाई अभिमुखीकरण दिइएको हो ।
श्रम तथा रोजगार कार्यालय हेटौडाका प्रमुख प्रशान्त शाहले श्रम अडिटको बिषयमा उद्योगीहरुको अन्यौल हटाउन र श्रम अडिटमा बढी सहभागिता जनाउन अभिमुखीकरणका साथै छलफल तथा अन्र्तक्रिया गरिएको बताए ।
२०७६ सालबाट सरकारले उद्योगीहरुको लागि श्रम अडिट अनिवार्य गरिएपनि सहभागिता र सक्रियता कम देखिएकोले यो कार्यक्रमको आयोजना गरिएको हो । शाहका अनुसार श्रम अडिटले उद्योगी, सरकार र स्वयं श्रमिकलाई समेत फाईदा हुने भएकोले सरकारले श्रम अडिट अनिवार्य गरेको हो । प्रस्तुतीकरण दिदै शाहले उद्योगीले हरेक बर्ष पुष मसान्तसम्म श्रमिक अडिट पेश गर्नुपर्ने भएपनि कोरोनाको कारण यसबर्ष फागुन मसान्तसम्म समय थपिएको जानकारी दिए । कार्यक्रममा फाराम भर्ने अभ्यास गरी १५० भन्दा बढी उद्योगीले श्रम अडिट फाराम भरेर बुझाएका थिए । यसअघि चितवन उद्योग संघ अन्तर्गतका एक हजार उद्योगीमध्ये हालसम्म ४० जना उद्योगीले मात्र श्रम अडिट फाराम बुझाएका थिए । श्रम तथा रोजगार कार्यालय , बाग्मती प्रदेशले यो बर्षका लागि २५० जना उद्योगीलाई श्रम अडिट बुझाउन पत्र पठाएको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोष ऐन कार्यविधी, नियमावलीको बिषयमा प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरण दिदै उनले उद्योगीले सामाजिक सुरक्षा कोषका लागि सहभागी हुनुपर्ने भन्दै यसका लागि उद्योगी र श्रमिक सबैले लाभ लिनुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषमा सहभागी भए लाभग्राहीले रिटायरमेन्ट हुंँदा, दुर्घटना हुंँदा तथा ऋण सहुलियत लगायतका सुविधा पाउने बताए ।
सो अवसरमा बोल्दै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले राष्ट्र निर्माणमा उद्योगीहरुको दायित्व रयोगदान उत्तिकै रहेको भन्दै उद्योगीले सरकारसंँग बहस पैरवी गर्न सक्ने बताए । ‘उद्योगीले कर, रोजगार उत्पादनमा लगायतका बिषयमा राज्यसंँग सहकार्य र समन्वय गर्दै आएकोले राज्यबाट पाउने सेवा सुविधा र अधिकारको प्रयोग गर्नुपर्ने बताए । ‘अहिले सरकारले रिफाइनान्सिङ्ग सुविधा दिएको छ , तर कतिपय साथीहरुको सक्रियता नै छैन , चासो पनि देखाउनु हुन्न । उनले भने, अहिले तयारी सामान र कच्चा पदार्थको मुल्यमा अन्तर छ तर तपाईहरुको ध्याननै छैन ।’
सहभागी उद्योगीहरुले यो बिषय नयांँ विषय भएकोले आफूहरु अन्यौलमा रहेको र सरकारले यसअघि स्पष्ट रुपमा नबुझाएकोले आफूहरुले यससम्बन्धी अडिट समयमै दिन नसकेको बताएका थिए ।
तपाइँको प्रतिक्रिया