मानवमै मानवता हराएपछि……. (भिडियोसहित)

चितवन – मानिसहरु स्वार्थी बन्दै गएका छन् । मानवमै मानवता हराउदै गएको छ । देशमा अपराध मौलाउदै गएको छ । दैनिक जसो बलात्कार र हत्याका घटनाहरु बढ्दै गइरहेको छ । तर अपराधी खुलेआम हिडिरहेका छन् ।
कञ्चनपुरकी निर्मला पन्त र हालै मात्र बैतडीकी भागीरथी भट्ट दुई प्रतिनिधि पात्र हुन्, जो बलात्कारको शिकार बने । तर बिडम्बना उनिहरुले अझै न्याय पाएका छैनन् । अपराधी कानुनको काठघरामा आउन सकेका छैनन् ।
यस्तै कथामा आधारित एउटा दर्दनाक गीत सार्वजनिक भएको छ । रमेश कँडेलको आवाजमा सजिएको ‘मान्छे’ बोलको गीत आज (मंगलबार) सार्वजनिक भएको हो । सार्वजनिक गीतमा मानवमा नै मानवता हराएको कथा उठान गरिएको छ ।
गीतको भिडियोमा धुर्व कोइरालालाई एक अपराधीको भूमिकामा प्रस्तुत गरिएको छ । जसले बाबाको भेषमा एक युवतीमाथि बलात्कार गर्छन् । समिया कार्कीलाई पीडित महिलाको भूमिकामा प्रस्तुत गरिएको छ । क्याप्टेन बिजय लामा एक इमान्दार प्रहरीको भूमिकामा छन् ।
लामाले अरपाधीलाई पक्राउ गर्दा राजनीतिक दबाब आउँछ र उनी आफैले पक्राउ गरेको अपराधीलाई छाड्न वाध्य हुन्छन् । कथामा अपराधीलाई पक्राउ गर्ने प्रहरीको मनोवल बढाउनुको सट्टा उल्टै निलम्बन गरेको देखाइएको छ । भिडियोमा नव कलाकार काजोल नेपाललाई नर्सको भूमिकामा प्रस्तुत गरिएको छ । काजोलले समाजमा कही कतै अझै पनि मानवता छ है भन्ने शशक्त भूमिका निभाएकी छिन् ।
गीतको शब्दले मान्छे मान्छे बन्ने हो भने देउताको खोज्नै पर्दैन भन्ने सन्देश दिन खोजेको छ । मानवमा नै देवता लुकेको हुन्छ भन्ने गीतको शब्द मार्फत बुझाउन खोजिएको छ । गीतको शब्दले के समाजबाट मानवता हराएकै हो त भन्ने गम्भीर प्रश्न पनि खडा गरेको छ । गीतको शब्द कालीप्रसाद रिजालले लेखेका हुन् । गीतमा किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको छ ।
जीवन शाही निर्देशित भिडियोमा शाहीसँगै बद्री पुडासैनि, मनोज ओलीलगायतका कलाकारहरुको अभिनय पनि देख्न सकिन्छ । गीत जस्तै भिडियो पनि उच्च स्तरको बनेको छ । रामकुमार केसीको छाँयाकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । गीतले युट्युबमा राम्रो प्रतिकृया पाइरहेको छ ।
तपाइँको प्रतिक्रिया