आन्तरिक राजश्व कार्यालय भरतपुर ः माघमा राजश्व असुली ३५ करोडले घट्यो

सूर्यप्रसाद अधिकारी, चितवन । चालु आर्थिक बर्ष ०७७, ०७८को पुष महिनाको तुलनामा माघ महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुलीमा कमी आएको छ । पुष महिनामा भन्दा माघ महिनामा झण्डै ३५ करोड घटेको तथ्याँकले देखाएको छ ।
कार्यालयलको तथ्यांक अनुसार पुष महिनामा राजश्वको सबै शिर्षक गरी १ अर्ब ४९ करोड २४ लाख २६ हजार रुपैयांँ असुली भएको थियो भने माघ महिनामा यो अनुपात घटेर १ अर्ब १४ करोड ९९ लाख ३४ हजार मात्र असुली भएको छ ।
कार्यालयले सबैभन्दा बढी अन्तशुल्क बाट राजश्व असुली गर्दै आएको छ । पुष महिनामा अन्तशुल्क शिर्षकबाट कार्यालयले ८५ करोड ५९ लाख ७६ हजार राजश्व असुली गरेको थियो भने माघ महिनामा ७३ करोड १८ लाख ३० हजार रुपैयांँमा मात्र राजश्व असुली गरेको छ ।
यस्तै आयकर शिर्षकमा पुष महिनामा भन्दा माघ महिनामा २ गुणा भन्दा कम राजश्व असुली भएको छ । जस अनुसार पुष महिनामा यस शिर्षकमा ४३ करोड ५६ लाख ५७ हजार राजश्व असुली गरेको थियो भने माघ महिनामा यो अनुपात घटेर १९ करोड ७७ लाख ३ हजार रुपैंया असुली भएको छ ।
मुल्य अभिवृद्धि कर शिर्षकमा भने राजश्व असुली पुष महिनाको तुलनामा केही अनुपातमा बृद्धि भएको छ । पुष महिनामा कार्यालयले यस शिर्षकमा १७ करोड २५ लाख ४५ हजार रुपैया राजश्व असुली गरेको थियो भने माघ महिनामा १९ करोड ३८ लाख ३७ हजार रुपैयांँ असुली भएको छ । व्याजकर शिर्षकमा पुष महिनामा १ करोड ५५ लाख ४१ हजार असुली भएको थियो भने माघ महिनामा यो अनुपात बढेर २ करोड ५५ लाख ६९ हजार रुपैयांँ असुली भएको छ ।
बहालकर शिर्षकमा पनि पुष महिनाको तुलनामा आधाभन्दा कम राजश्व असुली भएको छ । पुष महिनामा यस शिर्षकमा १ करोड २५ लाख ५० हजार रुपैया संकलन गरेको कार्यालयले माघ महिनामा जम्मा ५९ लाख २४ हजार रुपैयांँ मात्र असुल गरेको छ । यस्तै शिक्षा सेवा कर र स्वास्थ्य सेवा करमा पनि माघ महिनामा राजश्व असुली हुन सकेको छैन । जसअनुसार पुष महिनामा शिक्षा सेवा शिर्षकमा १ लाख ४९ हजार रुपैयांँ असुली गरेको थियो भने माघ महिनामा जम्मा एकहजार रुपैयामात्र असुल भएको छ । स्वास्थ्य सेवा शिर्षकमा पुष महिनामा आठ हजार रुपैंया असुल भएको थियो तर माघ महिनामा यो शिर्षकमा राजश्व असुली शुन्यमा झरेको छ ।
कार्यालयका सूचना अधिकृत कपिल नेपालले पुष महिनामा करदाताले बार्षिक अनुमानित आयकरको ४० प्रतिशत राजश्व तिनुपर्ने भएकोले
पुष महिनामा बढी राजश्व संकलन हुने गरेको बताए । ‘माघ महिनामा कुनै शिर्षकमा कर असुली बढेको छ , कुनै शिर्षकमा घटेको छ । यो कारोबार अनुसार भर पर्छ , उनले भने, कर असुली कम भएपनि लक्ष्य भने प्राय सबै शिर्षकमा पुरा गरेका छौं ।’ उनका अनुसार माघ महिनामा विभागले सबै शिर्षकमा दिएको लक्ष्य अनुसार अन्तशुल्क बाहेक सबैमा लक्ष्य भन्दा बढी कर असुली गरेको छ । स्वास्थ्य सेवा तथा शिक्षा करमा भने हाल बांँकी बक्यौता मात्र असुली हुने नेपालले जानकारी दिए । विभागले चालु आर्थिक बर्षमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैंया राजश्व असुली लक्ष्य दिएको मध्ये माघ महिनामा सम्म ८ अर्ब ६६ करोड १५ लाख ५२ हजार रुपैया असुली भएको छ ।
तपाइँको प्रतिक्रिया