सर्वाधिक धनराशीको दोस्रो अन्तराष्ट्रिय भेटेरान कप फाल्गुन ११ देखि

चितवन – नेपालको ईतिहासकै सर्वाधिक धनराशीको दोस्रो संस्करणको ‘अन्तराष्ट्रिय भेटेरान कप फुटबल २०७७’ फाल्गुन ११ गतेदेखि शुरु हुने भएको छ । चितवन भेटेरान क्लबले गत वर्षबाट भेटेरान कप फुटबल आयोजना गर्न लागेको हो । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नेछिन् ।
दोस्रो संस्करणको उक्त प्रतियोगिता फाल्गुन ११ गतेबाट हुने आज (मंगलबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । फाल्गुन १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १४ टोली सहभागी हुनेछन् । १२ वटा राष्ट्रिय तथा २ अन्तराष्ट्रिय टोली सहभागी हुनेछ प्रतियोगिता संयोजक बरुण बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार चितवन र हेटौंडाका २-२ टोली प्रतियोगितामा सहभागी हुनेछन् । चितवनको रातो र निलो गरी २ टोली छन् ।
यस्तै सर्लाही, जनकपुर, सिमरा, काठमाडौं, पोखरा, नवलपुर, बुटवल र कैलालीको भेटेरान टोलीहरु पनि सहभागी हुने उनले बताए । सबै टिममा पूर्व राष्ट्रिय खेलाडीहरु पनि हुनेछन् । यस्तै भारतबाट सिक्किम र देहरादुनको भेटेरान टोलीले सहभागीता जनाउने छ ।
डिफेन्डिङ च्याम्पियन दार्जिलिङ भने यस पटक प्रतियोगितामा सहभागी नहुने भएको छ । गत वर्ष भएको पहिलो संस्करणको फाइनलमा झापालाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ च्याम्पियन बनेको थियो । यस वर्ष कोभिडका कारण अन्तिम समयमा दार्जिलिङले नाम फिर्ता लिएको चितवन भेटेरान क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस पटक अन्तराष्ट्रिय टिमको हकमा सहभागी खेलाडीलाई दोहोरो परिचय पत्र अनिवार्य गरिएको छ । उनिहरुले सम्बन्धित देशको सरकारबाट प्राप्त परिचय पत्र र राशन कार्ड अनिवार्य गरिएको अध्यक्ष श्रेष्ठले बताए । गत बर्षको बिजेता दार्जिलिङले ४० वर्ष भन्दा कम उमेरका खेलाडी खेलाएको पाइएकोले यस वर्ष दुई वटा परिचयपत्र अनिवार्य गरिएको हो । भेटेरानमा न्युन्तम ४० वर्षमाथिका खेलाडीहरु मात्र सहभागी हुन पाउछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा चितवन रातो र जनकपुर भिड्नेछन् । उद्घाटनको दिनमा २ खेल र त्यसपछि पहिलो चरणमा प्रत्येक दिन ४-४ वटा खेलहरु हुनेछ । खेल १ घण्टाको मात्र हुनेछ भने निर्धारित समयमा बराबरी भएमा खेलको निर्णय टाइ ब्रेकरबाट गरिनेछ । एउटा टिमले १२ खेलाडी राख्न पाउनेछ । जसमा ९ खेलाडी प्लेयिङ सेटमा रहनेछन् भने ३ अतिरिक्त खेलाडी रहनेछन् । प्रतियोगिताका खेलहरु भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा हुनेछ । गत वर्ष भने भरतपुर १० स्थित गेष्टहाउस चौरमा प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो नेपालको ईतिहासमा भेटेरान कपको सर्वाधिक धनराशी हो । पहिलो संस्करणमा बिजेतालाई १ लाख ११ हजार १११ तथा उपबिजेतालाई ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशी थियो । यस वर्ष पुरस्कार राशी बढाइएको छ । यस्तै बिभिन्न विधाका विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । भरतपुर महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक हो ।
तपाइँको प्रतिक्रिया