काठमाडौं – संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संसदीय सुनुवाइबिनै आज सपथ हुने भएको छ।राष्ट्रपति कार्यालय शितल निवासमा बिहान ९ बजे सपथ कार्यक्रम राखिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीशले र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाउने व्यवस्था छ। संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्वगृहसचिव प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस गरेको थियो।



पुस ५ गते उनीहरूको सिफारिससम्बन्धी जानकारी सार्वजनिक भएको थियो। संवैधानिक निकायमा आफू अनुकूल मानिसहरू सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको गणपूरक संख्या नै परिवर्तन गरी अध्यादेश ल्याएका थिए।