सुशील पन्त,
चितवन – चितवन नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । आन्तरिकसँगै नेपाल घुम्न आउने बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गर्छ चितवन । बर्षेनी लाखौंको संख्या आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन घुम्न आउने गर्दछन् ।
चितवनको सौराहा, उपरदाङगढी, सिराइचुली, गोलाघाट, पटिहानी, शक्तीखोर, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफरी, जीप सफारी, जिल्ला भित्र रहेका झरनाहरु लगायतमा पर्यटकहरु रमाउने गर्दछन् । पर्यटनले चितवनको आर्थिक बिकासमा पनि ठुलो हिस्सा ओगट्ने गरेको छ । तर देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवनमा राती आइपुग्ने पर्यटक समस्यामा पर्ने गरेका छन् ।
रातको समयमा चितवन आइपुग्ने पर्यटकहरुले पानी समेत पिउन पाउदैनन् । चितवनका मुख्य बजार, पसल तथा होटलहरु साँझ चाडै बन्द हुनेगर्दछन् । मुख्य राजमार्गका होटलहरु समेत साँझ चाडै बन्द हुन्छन् । यस कारण रातीको समय चितवन आउने पर्यटकहरुले खाजा, खाना त परैको कुरा पानी समेत पिउन नपाउने वाध्यात्मक अवस्था छ। यस्तै राती आउने पर्यटकले कहाँ बस्ने भन्ने अर्को समस्या पनि झेल्नुपर्छ ।
चितवनको मुख्य र ठुलो बजार नारायणगढ बजार रातको समयमा चाडै बन्द हुन्छ । यस बाहेक भरतपुर आसपासका बजार, होटल तथा पूर्वी चितवनका बजारहरु समेत रातको समयमा चाडै बन्द हुन्छन् । यसरी बजार चाडै बन्द हुँदा पर्यटक, रातीको समयमा चितवन आइपुगे भने पिउने पानी पनि पिउन पाउदैनन् ।


काठमाडौं र पोखराका बजार तथा होटलहरु रातै भर जसो खुल्ला रहन्छन् । त्यहाँ आउने पर्यटकहरुलाई रातको समय खान र बस्न कुनै समस्या हुँदैन । तर चितवनको अवस्था भने ठ्याक्कै त्यसको विपरित छ । चितवन काठमाडौं र पोखरापछि नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँका पर्यटन व्यवसायीहरु चितवनलाई पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यमा छन् । तर यसरी बजार तथा होटलहरु चाडै बन्द हुँदा र रातको समयमा आउने पर्यटकहरुलाई खान बस्नै समस्या हुँदा व्यवसायीहरुको लक्ष्य प्राप्तीमा चुनौती थपिएको छ ।
बजार तथा होटलहरु अबेरसम्म नखुल्दा रातको समयमा आउने पर्यटकहरु समस्यामा पर्ने गरेको पर्यटन व्यवसायीहरुको गुनासो छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई रातको समयमा आउने पर्यटकहरुले पानी समेत पिउन नपाउने अवस्था रहेको गुनासो गर्छन् । यसले चितवन आउने पर्यटकहरुमा नकारात्मक सन्देश जाने र यहाँको पर्यटन प्रवर्द्धनमै असर पुग्ने भट्टराई बताउछन् ।
चितवनलाई तेस्रोबाट दोस्रो हुँदै पहिलो पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित व्यवसायीहरु अघि बढिरहदा यसले धेरै असर गर्ने उनको बुझाई छ । “चितवन तेस्रो पर्यटकीय गन्तव्य हो, हामी यसलाई दोस्रो हुँदै पहिलो बनाउने योजनामा छौं उनी भन्छन्, तर रातको समयमा ८-९ बजे नै पर्यटकहरुले पानी समेत पिउन नपाउनु दु:खद हो ।”
सौराहा क्षेत्रमा अहिले राती १२ बजेसम्म पर्यटकहरुलाई खान बस्नको सुविधा रहे पनि जिल्लाकै अन्य बजार क्षेत्रहरु चाडै बन्द हुँदा पर्यटकहरु समस्यामा पर्ने गरेको उनी बताउछन् । आन्तरिक तथा बाह्य दुबै पर्यटकलाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्र रातैभर खुला गर्नुपर्ने उनको भनाइ छ । रातभर खुला राख्न नसकिएपनी तत्कालका लागि रातको १२ बजेसम्म भएपनी बजार तथा होटलहरु खुला रहनुपर्ने भट्टराई बताउछन् ।
पर्यटकहरुबाट पनि रातको समयमा चितवन आइपुग्दा खान र बस्न नै नपाएको भन्दै गुनासो आउने गरेको उनी बताउछन् । “धेरै पर्यटकहरुले हामी रातको समयमा चितवन आउँदा खान बस्न नै पाएनौं, अन्तै गएर बस्नु पर्यो भनेर गुनासो गर्नुहुन्छ उनी भन्छन्, यसले धेरै नकारात्मक असर परेको छ , त्यसमा पनि बिशेषगरी आन्तरिक पर्यटकहरु बढी समस्यामा परिरहेका छन् ।”
बजार चाडै बन्द हुँदा पर्यटक र पर्यटन व्यवसायीहरुबीच कम्युनिकेशन ग्याप हुने गरेको उनको भनाई छ । “८-९ बजे नै बन्द हुँदा सजिलै सँग खान नपाउने र गन्तव्यसम्म पुग्नै नसक्ने अवस्था छ उनी भन्छन्, नारायणगढ आइपुगेका पर्यटकहरु सौराहासम्म आउनै समस्या हुने, यता पूर्वी चितवन आइपुगेका पर्यटकहरु नारायणगढ तर्फ जानै समस्या हुने अवस्था छ ।”
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा कम्तीमा राती १२ बजेसम्म बजार तथा होटलहरु खोल्ने वातारण बनाइनु पर्ने बताउछन् । मदिराजन्य पदार्थहरु १० बजेपछि बिक्री वितरण गर्न रोक गरेपनी कम्तीमा राती १२ बजेसम्म पर्यटकहरुले खाना र पानी पिउने वातारण बनाइनुपर्ने उनको भनाइ छ ।
“मदिराजन्य पदार्थहरु रातको १० बजेपछि बिक्री वितरण गर्नु पर्दैन, यसमा हामी पनि सहयोग गर्छौं उनी भन्छन्, तर पर्यटकलाई सजिलै खाने बस्ने बातावरण भने हुनुपर्छ ।” लामो यात्रा गरेर आउने पर्यटकहरु गन्तव्यसम्म नपुग्दा भोकै बस्नु पर्ने अवस्था रहेको उनको गुनासो छ । उनी अघि भन्छन् – “लामो बाटो आउँदा कहिले जाम, कहिले के , कहिले के हुन्छ, गन्तव्यसम्म नपुग्दासम्म भोकै बस्नु पर्ने अवस्था छ । पक्कै पनि भोकै बस्न त सकिदैन, सामान्यतय पनि १२ बजेसम्म खुल्न पाउनुपर्छ भन्ने हाम्रो आवाज हो र हामी यो आवाज उठाइरहेका छौं ।”
यस्तै पर्यटकहरु होटलमा बसेर खाइरहदा पनि १० बजेपछि उठ्नुस् जानुस् भन्नु पर्ने बाध्यता रहेको उनी बताउछन् । यसले चितवनकै पर्यटन प्रवर्द्धनमा नकारात्मक असर पारिरहेको उनको भनाइ छ । यसका लागि प्रशासन, प्रहरी र स्थानीय सरकारसँग छलफल भएको थियो । छलफलले केही अचारसंहिता बनाएपनी त्यो लागु हुन नसकेको उनले बताए ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ हालै मात्र होटलहरु ११ बजेसम्म खोल्न पाउने सहमती भएपनी व्यवहारिक रुपमा लागु हुन नसकेको बताउछन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र होटल व्यवसायी संघबीच राती ११ बजेसम्म होटलहरु खोल्ने सहमती भएको थियो ।
प्रशासनले अनुमती दिए पनि प्रहरीले राती ८-९ बजे नै होटल बन्द गर्न लगाउने श्रेष्ठको भनाइ छ । “हामीलाई प्रशासनले ११ बजेसम्म खोल्न दिएको छ उनी भन्छन्, तर पनि प्रहरीले ८ बजे नै बन्द गर्न लगाउछन् ।” होटलहरु चाडै बन्द हुँदा राती अबेर चितवन आउने पर्यटकहरुलाई खान बस्न नै समस्या हुने गरेको उनी स्वीकार्छन्। प्रहरीले अवरोध नगरे राती अबेरसम्म नै होटल खोल्न आफुहरु तयार रहेको उनको भनाइ छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई अहिले ११ बजेसम्म होटल खोल्न दिने निर्णय भइसकेको बताउछन् । कोभिड १९ को उच्च जोखिमका समयमा ८ बजे बन्द गर्न लागए पनि व्यवसायीहरुकै आग्रह अनुसार अहिले ११ बजेसम्म खोल्न अनुमती दिइएको उनी बताउछन् ।
प्रहरीले अवरोध गरेको गुनासो बारे उनी भन्छन् – “जहाँसम्म गुनासोको कुरा छ, केही होटलहरुमा बढी होहल्ला भएका कारण छिमेकीले गुनासो गर्दा प्रहरीले त्यसो गरेको हुन सक्छ उनी भन्छन्, अन्य केही समस्या भए उहाँहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।”
यस्तै केही समयपछि पर्यटकीय क्षेत्रहरुमा आवश्यक मापदण्ड तयार गरेर रातैभर बजार तथा होटल खोल्न दिइने उनी बताउछन् । पर्यटकीय क्षेत्रहरुमा रातैभर होटल खोल्न दिने सरकारी निती अनुसार व्यवसायीहरुसँग छलफल गरेर प्रकृया अघि बढाइनेछ । रातैभरी होटल खोल्न दिदा आवश्यक सुरक्षा व्यवस्था पनि मिलाउनु पर्ने उनी बताउछन् ।
चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ पारिवारीक बातावरणका होटल तथा रेष्टुरेन्टहरुलाई ११ बजेसम्म खोल्न कुनै अवरोध नगरिएको बताउछन् । तर मादक पदार्थ मात्र बिक्री गर्ने होटलहरुलाई भने ८ बजेसम्म मात्र खोल्न दिइने एसपी गुरुङ बताउछन् । “पारिवारिक बातावरणका रेष्टुरेन्टहरुलाई पहिले हामीले १० बजेसम्म खोल्न दिएका थियौं तर अहिले ११ बजेसम्म खोल्न दिन्छौं उनी भन्छन्, तर मादक पदार्थमात्र बिक्री गर्ने होटलहरुलाई ८ बजे बन्द गर्न लगाउछौं ।”
मादक पदार्थमात्र बिक्री गर्ने होटलहरु रातै भरी खुल्दा बिकृति बढ्ने हुँदा नियन्त्रणका लागि ८ बजेपछि खोल्न नदिइको उनको भनाइ छ । एसपी गुरुङ पर्यटकको हकमा होटलहरुले जुनसुकै समयमा पनि पर्यटकहरुलाई रिसिभ गर्न र राख्न सक्ने बताउछन् ।