चितवन – नेपाली काँग्रेसको भातृ संगठनहरुले संसद विघटनको विरोधमा आज (सोमबार) देशभर प्रदर्शन गर्दैछ । केन्द्रीय समितिको निर्देशन अनुसार काँग्रेस चितवनको भातृ संगठनहरुले आज भरतपुरको चौबिसकोठीमा प्रदर्शन गर्दैछ ।
नेपाली काँग्रेस चितवनको संयोजनमा काँग्रेसका ११ वटा भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार दिउँसो १ बजे भरतपुरको चौबिसकोठीमा सरकारविरुद्ध प्रदर्शन हुनेछ ।
प्रदर्शन अघी बिभिन्न स्थानबाट र्याली निकाल्ने कार्यक्रम तय भएको छ । नेपाल महिला संघ चितवनले भरतपुरको गेस्टहाउस चौरबाट र्याली निकाल्ने जोशीले जानकारी दिए । यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनले विरेन्द्र बहुमुखी क्याम्पस तथा तरुण दल चितवनले हाकिमचोकबाट र्याली निकाल्ने कार्यक्रम छ ।
तिनै ठाउँबाट निस्केको र्याली चौबिसकोठी पुगेर कोणसभामा परिणत हुनेछ । सभालाई जिल्लाका नेता, भातृ संगठनहरुका केन्द्रीय प्रतिनिधिहरुले सम्बोधन गर्ने बताईएको छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक तथा अलोकतान्त्रीक भएको भन्दै चरणवद्ध आन्दोलन गरिरहेको छ ।