ओली समुह चितवनले भन्यो : भ्रम र अवरोधका बाबजुत जनसभामा ब्यापक जनसभागीता

एटुजेड समाचार

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुह चितवनले शनिबारको जनसभा सफल भएको जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशिनाथ घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै ओली समुह चितवनले अनेक भ्रम र अवरोधका बाबजुत जनसभा सफल भएको जनाएको हो ।

जारी विज्ञप्तीमा जनसभामा भ्रम र अवरोधका बाबजुत स्वतस्फुर्त रुपमा ब्यापक जनसभागीता रहेको पनि उल्लेख गरिएको छ । जनासभाको सहभागीताले पार्टीका नेता तथा कार्यकर्ता र जनसमुदायको सरकार, पार्टी र नेतृत्वप्रति जनसमर्थन रहेको पुष्टि भएको पनि जनाइएको छ ।

“कोभिड १९ को प्रभाव कायमै रहेको, मौसम ज्यादै प्रतिकूल रहेको, अनेकौं किसिमका भ्रम र अवरोधहरुका बाबजुद पनि स्वस्फूर्त रुपमा सभामा जुनप्रकारले व्यापक उपस्थिति रह्यो त्यसबाट पार्टीका नेता तथा कार्यकर्ताहरु र आम जनसमुदायको सरकार, पार्टी र नेतृत्वप्रति व्यापक जनसमर्थन रहेको पुष्टि भएको ठानेका छौं”, विज्ञप्तीमा भनिएको छ ।

शनिबारको कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा बादल अन्य मन्त्रीहरुबाट मुलुकको राजनीतिक परिस्थिती, बिकास निर्माणका काम र भावी योजना बारे सबै जना प्रष्ट भएको ओली समुह चितवनको ठहर छ । “मुलुकको राजनीतिक परिस्थितीको बारेमा तथा सरकारले गरेको काम, सरकारको भावी योजनाका बारेमा जे जती भ्रमहरु थिए, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, शहरी बिकासमन्त्री प्रभु शाह, भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ लगायतको सम्बोधनपछि प्रष्ट भइसकेको हुनुपर्दछ भन्ने हाम्रो ठहर छ”, विज्ञप्तीमा उल्लेख छ।

यस्तै जनसभालाई केही जनप्रतिनिधि, सीमित व्यक्ती र समुहले असफल बनाउन र बाधा अवरोध गर्न खोजेको भन्दै भर्त्सना समेत गरिएको छ । जनसभाले त्यस्ता अलोक्तान्त्रीक शैलीहरु परास्त भएको पुष्टि भएको पनि जनाइएको छ ।

नेकपा ओली समुह चितवनले जनसभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ । विज्ञप्ती मार्फत जनताको व्यापक सहभागीताका लागि समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम, सहजिकरणकर्ता, बिभिन्न उपसमितिमा रहेर महत्वपूर्ण भूमिका खेल्ने पार्टीका नेता, कार्यकर्ता तथा जनसंगठनहरुलाई पनि धन्यवाद ज्ञापन गरिएको छ ।

यसैबीच उक्त समुहले माघ २३ गते शुक्रबार काठमाडौंमा हुने जनसभामा उत्साहका साथ सहभागी हुन पनि अपिल गरेको छ । नेकपा ओली समुह चितवनले शनिबार केन्द्रीय बस टर्मिनल भरतपुरमा जनसभा आयोजना गरेको थियो । सभालाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, शहरी बिकासमन्त्री प्रभु शाह, भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ लगायतले सम्बोधन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू