वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

एटुजेड समाचार

काठमाडौं – वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ ।तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौं महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कसप तीनकुनेलाई दुई हजार रुपैयाँ, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए।

गरिमा वर्कसपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो।जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ ।

४०३औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुंगाना पनि सहभागी सहभागी भएकी थिइन् । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको बताइएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू