चितवन – चितवनका दुई बिकास आयोजना शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) चितवन आउँदैछन् । प्रधानमन्त्री ओलीले दुई आयोजना शिलान्याससँगै भरतपुरमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले शनिबार बिहान जिल्ला समन्वय समिति चितवनको पछाडी बाइपाससँगै जोडीएको जग्गामा निर्माण हुने अन्तरराष्ट्रियस्तरको सभाहलको शिलान्यास गर्ने कार्यक्रम छ । संघीय सरकारको ८७ करोड ८८ लाखको लागतमा २७ महिनामा सम्पन्न गर्ने गरी भरतपुरमा अन्तरराष्ट्रियस्तरको सभाहल निर्माण भइरहेको छ ।
आज नै उनले एक अर्ब १२ करोडको लागतमा निर्माण हुने पुल्चोक गोन्द्र्याङ ६ लेन सडकको पनि शिलान्यास गर्नेछन् । उक्त सडक २ वर्ष ४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको छ ।
शिलान्यासपछि उनले भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा चितवनका अनुसार उनले मध्यान्ह १२:३० बजे आमसभालाई सम्बोधन गर्नेछन् । सभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकास मन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री ओली चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जिल्लाको सुरक्षा मजबुद बनाइएको जानकारी दिए । सबै कुरा खुलाउन नमिल्ने भन्दै उनले आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइएको बताए । चोक चोकमा प्रहरी तैनाथ गरिएको उनले बताए ।
महानगरद्धारा बहिस्कार
यसैबीच भरतपुर महानगरपालिकाको कार्यालयले प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम बहिस्कार गर्ने भएको छ । महानगरसँग समन्वय नै नगरी शिलान्यास गर्न लागिएको भन्दै महानगर सहभागी नहुने मेयर रेनु दाहालले जानकारी दिईन् ।
महानगरको गौरवको आयोजना केन्द्रीय सरकारले ठाडो हस्तक्षेप गरेको मेयर दाहालको भनाइ छ । उनले केन्द्रीय सरकारले महानगरलाई निषेध गरेर संघीयताको मुल मर्म विपरित केन्द्रीकृत शासनको झल्को दिने गरी संघीय सरकारले गम्भीर विभेद गरेको आरोप समेत लगाएकी छिन् ।
यस्तै नेकपा प्रचण्ड नेपाल समुहले पनि काम चलाउ सरकारले स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महानगरको पहलकदमीमा अन्तर्राष्ट्रियस्तरको सिटी हल र पुल्चोक गोन्द्र्याङ ६ लेन सडक निर्माण शुरु भएको बीच अवधिमा कामचलाउ प्रधानमन्त्रीबाट शिलान्यासको नाटक मञ्चन भएको उक्त समुहको आरोप छ ।