प्रधानमन्त्री ओली भोलि चितवन आउँदै, सम्पूर्ण तयारी पुरा

एटुजेड समाचार

चितवन – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) चितवन आउँदैछन् । संसद विघटनसँगै नेकपामा चर्किएको विवादकैबीच ओली अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला आउन लागेका हुन् ।

प्रचण्डको गृह जिल्ला आउँदा ओली तीन वटा कार्यक्रममा सहभागी हुँदैछन् । नेकपा चितवनका अनुसार ओलीले भोलि दुई बिकास आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै भोलि नै उनले भरतपुमै हुने बिशाल आमसभालाई सम्बोधन गर्नेछन् ।

ओलीले भरतपुरमा ८८ करोड ८७ लाखको लागतमा निर्माण हुने अन्तरराष्ट्रिय स्तरको सिटी हलको शिलान्यास गर्ने कार्यक्रम रहेको नेकपाकी केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक दिलकुमारी रावल (पार्वती) ले जानकारी दिइन् । भरतपुर महानगरपालिका १० स्थित जिल्ला समन्वय समिति पछाडी बाइपास सडकसँगै जोडीएको जमिनमा सिटीहल निर्माण हुँदैछ । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले चार विगाह चार कठ्ठा क्षेत्रफलमा उक्त सिटीहल निर्माण शुरु गरेको हो ।

सिटीहलको मुख्य भवन २ हजार क्षमताको मुख्य हल रहनेछ भने ३०० क्षमताको छुट्टै हल तथा पर्याप्त पार्किङ रहनेछ । उक्त सिटी हल २७ महिनामा निर्माण सम्पन्न गर्ने गरी मंसिर १८ गते इण्डो–सगुन–रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सिटी हलपछि सोही दिन प्रधानमन्त्रीले पुल्चोक गोन्द्र्याङ ६ लेन सडकको पनि शिलान्यास गर्ने कार्यक्रम छ । उक्त सडक विस्तारका लागि इण्डो–सगुन–रौताहा जेभीसँग नै १ अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार उक्त सडक निर्माण कार्य २ वर्ष ४ महिनामा सकिसक्नुपर्नेछ ।

यि दुई बिकास आयोजनाको शिलान्यासपछि प्रधानमन्त्री ओलीले केन्द्रीय बस टर्मिनलमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आमसभा मध्यान्ह १२:३० बजे हुने रावलले जानकारी दिईन् । जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकास मन्त्री प्रभु साह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा चितवनले जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशिनाथ अधिकारीले जनसभामा सहभागी हुने आम सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न र अनिवार्य माक्सको प्रयोग गर्न भनिएको छ । यस्तै पूर्वबाट आउने जनसमुदायलाई वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमाजम्मा भई ¥यालीसहित आउन आग्रह गरिएको छ ।

ओलीले वर्तमान राजनीतिक तथा समसामयीक बिषयमा आफ्नो धारणा राख्ने उनले बताइएको छ । संसद विघटन गर्नुको बाध्यात्मक परिस्थितिबारे पनि सर्वसाधारणलाई प्रधानमन्त्रीले स्पष्ट पार्ने बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू