चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सिटी हल र पुल्चोक गोन्द्र्याङ ६ लेन सडक महानगरको गौरवको आयोजना भएको बताएकी छिन् । महानगरमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले महानगरको गौरवका आयोजनाको अरुले जस लिन खोजेको बताएकी छिन् ।
उनले केन्द्रीय सरकारले यि दुबै आयोजनाको जस लिन खोजे पनी महानगरको सक्रियता रहिरहने बताईन् । “सिटी हल र पुल्चोक गोन्द्र्याङ ६ लेन सडक महानगरको गौरवको आयोजना हो, असली आमा हामी हौं, असली आमालाई जती आफ्नो सन्तानको माया अरुलाई हुन्छ र ? उनले भनिन्, दुबै आयोजनामा हाम्रो एकदमै सक्रियता रहनेछ ।”
उनले एकदिन आएर ढुङ्गामा फुल चढाउदैमा महानगरले व्यवास्ता गर्ने भन्ने सवालै नहुने पनि बताईन् । “एकदिन आएर ढुङ्गामा फुल चढाउदैमा भरतपुर महानगरले नहेर्ने, छोड्ने, व्यवास्ता गर्ने भन्ने हुँदैन उनले भनिन्, यो हाम्रो प्रतिष्ठाको आयोजना हो, तोकिएकै समयमा सम्पन्न गर्नका लागि हाम्रो समन्वय सहयोग सधैं रहिरहन्छ ।” उनले दुबै आयोजना सम्पन्न भएपछि महानगरकै स्वामित्वमा आउने बताईन् ।
उनले केन्द्रीय सरकारले हस्तक्षेप गरेर बिना जानकारी शिलान्यास गर्ने खोजे पनि दुबै आयोजनाको परिकल्पना महानगरले गरेको बताईन्। जसले जस लिन खोजे पनि दुबै आयोजनाको परिकल्पना कसले गरेको भन्ने बिषय दिनको घाम झै छर्लङ्ग रहेको उनको भनाइ थितो । “बजेट केन्द्रीय सरकारको हो, यती ठुलो आयोजना महानगरको बजेटले मात्र सम्भव छैन उनले भनिन्, तर यसको शुत्राधार को हो ?, तीन बर्षदेखि यसका लागि को निरन्तर लागि पर्यो ? कसले गर्यो भन्ने दिनको घाम झै छर्लङ्ग छ ।”
यसैबीच भरतपुर महानगरले महानगरकै पहलमा निर्माण शुरु भएको दुबै आयोजनाको आफुहरुसँग समन्वय नै नगरी शिलान्यासको तयारी गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले विगतका पटक पटक मिति तोकेर शिलान्यासको तयारी गर्दा अनेक बहाना बनाएर शिलान्यास गर्न नदिइएको आरोप समेत लगाएको छ ।
महानगर प्रमुख दाहालले यस अघि तीन पटकसम्म मिति तोकेर तयारी गर्दा पनि अनेक बहानामा शिलान्यास गर्न नदिइएको बताईन् । “शिलान्यासका लागि महानगरले पटक पटक मिति तोकेर तयारी गर्दा पनि अनेक बहानामा शिलान्यास गर्न दिइएन उनले भनिन्, अहिले सिङ्गो देश संकटमा परेको बेला काम चलाउ सरकारले यसरी शिलान्यास गर्दै हिंड्ने हो ? यो कुन उद्धेश्यले गर्न खोजिएको हो ?” शिलान्यासको बहानामा राज्यको स्रोत र साधनको दुरुपायोग भइरहेको समेत उनको आरोप छ ।
उनले केन्द्रीय सरकारले महानगरलाई निषेध गरेर संघीयताको मुल मर्म विपरित केन्द्रीकृत शासनको झल्को दिने गरी संघीय सरकारले गम्भीर विभेद गरेको आरोप समेत लगाएकी छिन् । यसले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको महसुस समेत भएको उनको भनाइ थियो । यस्तै उनले शिलान्यास बारे महानगरलाई कुनै औपचारिक जानकारी नआएकोले महानगर उक्त कार्यक्रममा सहभागी नहुने जनाईन् । शिलान्यासलाई लिएर सम्बन्धित कर्मचारीहरुमा पनि असन्तुष्टी रहेको उनको भनाइ थियो ।
भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले महानगरको आयोजनामा केद्रीय सरकारले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । स्थानीय सरकार स्वतन्त्र हुनुपर्नेमा सिटी हल र पुल्चोक गोन्द्र्याङ ६ लेन सडकको महानगरसँग समनव्य नै नगरी केन्द्रीय सरकारले शिलान्यास गर्न खोज्नुले स्थानीय सरकारमाथि हस्तक्षेप गर्न खोजिएको प्रष्ट हुने उनको भनाइ थियो । “महानगरसँग समन्वय गरेको भए हामी रातो कार्पेटमा स्वागत गर्ने थियौं उनले भने, तर बिना समन्वय शिलान्यास गर्न खोजेर स्थानीय सरकारमाथि हस्तक्षेप गर्न खोजिएको छ ।” स्थानीय सरकारलाई निषेध गरेर निरंकुश शासन गर्न खोजिएको भन्दै यो कदमको ठुलो मुल्य चुकाउनुपर्ने तर्ग पनि उनले सचेत गराए ।
संघीय सरकारको ८७ करोड ८८ लाखको लागतमा जिल्ला समन्वय समिति चितवनको कार्यालय पछाडि बाइपास सडकसम्मको ४ बिघा ४ कठ्ठा जग्गामा सिटी हल निर्माण भइरहेको छ । यसमा २ हजार क्षमताको मुख्य हल रहनेछ भने ३०० क्षमताको छुट्टै सिटी हल तथा पर्याप्त पार्किङ रहनेछ । अहिले दैनिक ५० जना कामदार सिटीहल निर्माणको काममा खटिएका छन् ।
सिटी हल निर्माणका लागि चालु आर्थिक वर्षको मंसिर १८ गते इण्डो–सगुन–रौताहा जेभी र सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच २७ महिनामा सम्पन्न गर्ने गरी ८७ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस्तै एक अर्ब १२ करोडको लागतमा पुल्चोक गोन्द्र्याङ सडक ६ लेनको बनाइदैछ । उक्त सडक विस्तारका लागि इण्डो–सगुन–रौताहा जेभीसँग नै ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार उक्त सडक निर्माण कार्य २ वर्ष ४ महिनामा सकिसक्नुपर्नेछ । यि दुबै आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोली (शनिबार) चितवन आउँदैछन् ।