काठमाडौँ – मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिमपछि स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन यही माघको अन्तिम साताबाट शुरु हुँदैछ । कोभिड–१९ काकारण कार्यशैली परिमार्जन गर्दै सेनाको पश्चिम पृतनामा मुख्य शिविर र मातहतका जिल्लामा बसोबास गर्ने भूपू सैनिकका लागि सम्बन्धित जिल्लामा सहायक शिविर खडा गरी सम्मेलनको आयोजना गरिँदैछ।
शिविर खडा भएका प्रत्येक केन्द्रमा १००-१०० को सहभागिता हुने गरी सम्मेलन तयारी भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । नंम्वर ३ बाहिनी अड्डा, तनहुँ, कालीभञ्जन गण (ई) तनहुँ, नं ३ जगदल गण तनहुँ, भगवतीदल गण कास्की, श्रीजङ्ग गण लमजुङ, रणसिंहदल गण, सुरक्षा गुल्म गोरखा, दुर्गाभञ्जन गुल्म स्याङ्जा, नं २३ बाहिनी अड्डा र अर्जुनबाँण गण (संयुक्त रुपमा) बागलुङ र मुस्ताङ, केवलजङ्ग गुल्म पर्वत, श्रीबक्स गुल्म म्याग्दीमा सम्मेलनको सहायक शिविर रहने छ ।


कोरोना सङ्क्रमण जोखिमको पाटोलाई हेक्कामा राखी सेनाले यस पटक भूपूको समानुपातिक र समावेशी प्रतिनिधिमूलक उपस्थितिमा सम्मेलन गर्न लागेको हो। तेस्रो चरणको पहिलो वर्षमा चार र दोस्रो वर्षमा तीन वटा प्रदेशमा गर्ने लक्ष्य राखेकोमा पहिलो वर्ष अर्थात् २०७६÷७७ मा गण्डकी बाहेक अरु प्रदेशमा सम्मेलन सम्पन्न भएका थिए। गण्डकी प्रदेशमा भने कोभिड–१९ कारण सम्मेलन स्थगित गर्न परेको थियो ।
सेनाका अनुसार, बाँकी वाग्मती, प्रदेश नं २ र प्रदेश नम्बर १ मा पनि आगामी चैत महिनाभित्रै सम्मेलन हुनेछ।जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपू सैनिकले उक्त सम्मेलन सहकर्मी पल्टनीयाबीच भेटघाट, सुख–दुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रुपमा मनाउँछन् ।
सम्मेलनको मुख्य नारा “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार” भन्नेछ ।
सम्मेलनलाई हिताधिकारीको सेवा सुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रुपमा सेनाले लिने गरेको छ। हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या करीब ८५ हजार छ।
सैनिक कल्याणकारी कार्यक्रमको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्ने तर्फ सेनाले स्पष्ट नीति तर्जुको प्रयास भइरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताउनुभएको छ। सेनाका बहालवाला, भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहु–आयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ।
पछिल्ला वर्षमा पनि कोषले हिताधिकारीको घरदैलोसम्म स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपू सैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढाएको छ। सातवटै प्रदेशमा हरेक तीन तीन वर्षमा सञ्चालन गर्ने नीतिगत व्यवस्थाअनुरुप सेनाले सम्मेलनलाई परिस्कृत तुल्याउँदै लगेको छ ।
लोक संस्कृतिको संरक्षण
हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतको अवधारणामा आधारित रही कल्याणकारीका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको सफल कायान्वयन गर्नेतर्फ कोषले ध्यान केन्द्रीत गरिरहेको कल्याणकारी योजना निर्देशक सागरबहादुर केसीले बताउनुभयो। लघुवित्त कार्यक्रमका लागि कोषले इन्भेष्टमेन्ट बैँकसँगको सहकार्यमा हिताधिकारीलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आएको छ।
सम्मेलनका क्रममा भूपू सैनिकद्वारा प्रस्तुत हुने जोशिलो परेडले सङ्गठनको ओज बढाउने मात्र नभइ प्रदेश र जिल्लाको पहिचानका रुपमा रहेका बाजागाजा, वेषभूषा र झाँकीसहितको नृत्यले लोकसंस्कृतिको संरक्षण, विकास र विस्तारमा योगदान पुग्नेछ।
सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यको जानकारी, चाहना पहिचान, अन्तक्र्रिया गरी रायसुझाव सङ्कलन गर्ने, पिरमर्का सुन्ने, शिविरमार्फत स्वास्थ्य उपचारसेवा उपलब्ध गराउने तथा सेनाप्रति विश्वास र भरोसा दिलाउने रहेको छ।
के कस्ता सुविधा थपिए त !
विगतमा काठमाडौँमा मात्र केन्द्रित स्वास्थ्य सेवालाई भूपू सैनिकको माग सम्बोधन गर्ने क्रममा सेनाले प्रदेशस्तरमै गुणस्तरीय सेवा पु¥याउन इटहरी, पोखरा, बर्दिवास, नेपालगञ्ज र बोराडाँडीमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
सैनिक सेवामा रहदा कर्तव्यपालनको सिलसिलामा अपाङ्गता तथा घाइते भई जीवनयापनमा सहयोगीको जरुरत पर्ने सकलदर्जालाई मासिक १० हजार दरले सहयोगी भत्ता उपलब्ध गराउने व्यवस्था मिलाइको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विगतमा हिताधिकारीका सन्ततिलाई २१ वर्ष उमेर पुगेपछि स्वास्थ्य उपचार सेवा प्रदान नगर्ने नीतिमा उमेरको हद सशोधन गरी सेनाले गम्भिर प्रकृतिका रोग लागेका अविवाहित छोरी र बेरोजगार छोरालाई पनि उपचारको सुविधालाई उपलब्ध गराउने निर्णय गरेको छ ।
सैनिक कल्याणकारी कोषबाट सेवा सुविधा प्राप्त गर्ने सबै हिताधिकारीका सन्ततिलाई गुणस्तरी शिक्षामा पहुँच हुने गरी कोषले अध्ययनको व्यवस्था मिलाएको छ । सेनाले मुलुकका ७० जिल्लामा हिताधिकारी लाभान्वित हुनेगरी २१० वटा उत्कृष्ट विद्यालयमा पठनपाठनको व्यवस्था मिलाएको छ ।
सम्मेलनका क्रममा विगतमा प्राप्त सुझावका आधारमा सेनाले हिताधिकारीलाई आत्मनिर्भर र स्वावलम्बन तुल्याउन मेकानिक्स, सिलाइकटाइ, पेन्टर, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, कुक, कम्प्युटर र कृषि सम्बन्धी व्यावसायिक तालीम प्रदान गरिरहेको छ ।
बढ्दो महँगीको मारमा नपरुन केही हदसम्म तथा हिताधिकारी र सकलदर्जाले राहत पाउन भन्ने हेतुले सङ्गठनले बहालवाला र अवकाश प्राप्तका लागि स्थान विशेषमा सुपथ मूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म लैजाने अभियान नै शुरु गरिसकेको छ ।भूपू सैनिकलगायत सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा एवं आत्मसम्मानका लागि गौरवपूर्ण कार्य गर्दै आएको सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु एवं राष्ट्रिय एकताको प्रतिकका रुपमा रहीआएको छ ।रासस
फाईल तस्विर