चितवन – चितवनको माडी नगरपालिकामा रोकिएको पुल निर्माणको काम सुचारु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको निर्देशनपछि रोकिएको पुलको काम आज (बुधबार) सुचारु भएको हो ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी भरतपुर-माडी-ठोरी हुलाकी सडकखण्डअन्तर्गत माडीमा पुल निर्माणा गरिएको भन्दै निकुञ्जले गते ९ गते शुक्रबार काम रोक्न निर्देशन दिएको थियो । निकुञ्जको निर्देशनपछि पुल निर्माण कार्य तत्कालका लागि रोकिएको थियो ।


निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजना र ठेकेदार कम्पनीबीच सम्पन्न संयुक्त बैठकले ईआईए गरी कागजपत्र बुझाउने सहमती भएपछि पुलको काम पुन: सुचारु भएको हो । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले नियमानुसार ईआईए गरी कागजपत्र बुझाउने शर्तमा पुल निर्माण कार्य सुचारु गर्ने सहमती भएको बताए ।
निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले छिटो ईआईए गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताए । भरतपुर-माडी-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत माडीमा अहिले १२ वटा पुल निर्माण हुँदैछ । जसमध्य एउटा पुल निर्माण भइसकेको छ भने अन्य ११ वटा निर्माणाधिन अवस्थामा छ ।