चितवनमा आज देखी शुरू भयो कोरोनाविरुद्धको खोप अभियान

एटुजेड समाचार

चितवन – चितवनमा आज देखी कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । चितवनका तीन ठाउँ भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

सोही क्रममा भरतपुरमा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले र माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो ।

भरतपुर अस्पतालमा मेसु तिवारी लगाएत ११३ जना कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएको भरतपुर अस्पतालमा डा. युवानिधि बसौलाले बताए । उनले अहिले सम्म कोरोना खोप लगाएका ११३ मध्य ३ जनालाई सामान्य रिगटा लागेजस्तो भए पनि अन्य कसैलाई कुनै साईड इफेक्ट नदेखिएको  बताए ।

पहिलो चरणको खोप ५ दिन देखी ९ दिन सम्म दिने उनले बताए । आज र भोली भरतपुर अस्पतालका कर्मचारीलाई खोप दिईने छ भने बाँकी अन्य अस्पतालका कर्मचारीलाई दिईने उनले जानकारी दिए ।

तीन वटै अस्पतालमा खोप लगाइसकेपछि हुन सक्ने सम्भावित अनपेक्षित घटना व्यवस्थापनका लागि समिति गठन गरिएको छ । भरतपुर अस्पतालमा डा. युवानिधि बसौलाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । यस्तै रत्ननगर अस्पतालमा डा. रामचन्द्र श्रेष्ठ तथा माडीमा डा. रन्जु सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

जिल्लामा ४ हजार एक सय डोज खोप प्राप्त भएको छ । पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई दिईने जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने चिकित्सकहरु बताउछन् । केही असर देखिए पनि आत्तिनु नपर्ने चिकित्सकहरुको भनाइ छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट खोप अभियानको उद्घाटन गरेसगैँ देशैभर कोरोना विरुद्धको खोप लगाउन सुरु भएको हो । देशका सातै प्रदेशका ६२ अस्पताल र १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु