चितवन – चितवनमा बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । आज (मंगलबार) खोप प्राप्त भएसँगै भोलिदेखि नै लगाउन शुरु गरिने भएको हो ।
खोप लगाउनका लागि जिल्लाभर तीन वटा खोप केन्द्र तोकिएको छ । भरतपुरस्थित भरतपुर अस्पताल, पूर्वी चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पताल र माडीको बगौडा अस्पतालबाट खोप लगाइनेछ ।


तीन वटै अस्पतालमा बिहान साँढे १० बजे एकै समयमा खोप लगाउन शुरु गरिने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । यसका लागि सबै अस्पतालमा खोप पुगिसकेको छ ।
तीन वटै अस्पतालमा खोप लगाइसकेपछि हुन सक्ने सम्भावित अनपेक्षित घटना व्यवस्थापनका लागि समिति गठन गरिएको छ । भरतपुर अस्पतालमा डा. युवानिधि बसौलाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । यस्तै रत्ननगर अस्पतालमा डा. रामचन्द्र श्रेष्ठ तथा माडीमा डा. रन्जु सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ । तीन वटै केन्द्रमा खोप लगाउनका लागि आवश्यक तयारी पुरा भइसकेको छ ।
जिल्लामा आज ४ हजार एक सय डोज खोप प्राप्त भएको छ । पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई लगाइने छ । स्वास्थ्य कार्यालयका प्रमुख तिवारीका अनुसार पहिलो चरणमा प्रत्यक्ष उपचार सेवामा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स तथा शव बाहनका चालक र सरसफाईकर्मीहरुलाई खोप लगाइने छ ।
जिल्लामा पहिलो चरणका लागि ६ हजार २ सय खोप माग गरिएको थियो । तर ४ हजार एक सय डोज मात्र आएको छ । भरतपुरमा मात्रै पहिलो चरणमा ४ हजार जनालाई खोप लगाउन पर्ने छ । यस्तै रत्ननगरमा करिब ५ सय ५० र माडीमा एक सय ५० खोप आवश्यक छ । अहिले उपलब्ध खोज लगाउन शुरु गरिने र थप माग गरिने तिवारीको भनाई छ ।
भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । उक्त खोप अहिले प्रदेशहरुमा पठाउने काम भइरहेको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने तयारी छ ।