रहेनन् प्रचण्डका राजनीतिक गुरु, प्रचण्डद्धारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि

एटुजेड समाचार

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार समिति सदस्य खम्बा सिंह कुँवर (काजी बा) को निधन भएको छ । कुँवरको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्‍यु भएको हो ।

उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का राजनीतिक गुरु हुन् । प्रचण्डले कुँवरलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका छन् । अन्तिम श्रद्धाञ्जलि दिँदै प्रचण्डले कुँवरको निधनले आफु निकै मर्माहत भएको बताए ।

उनले वर्तमान राजनीतिक संकटको घडीमा उनको निधनले थप पीडा थपेको बताए । कुँवरको निधनले पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको उनको भनाई छ । उनले आफ्नो राजनीतिक यात्रामा कुँवरको अतुलनीय योगदान रहेको बताए । “मेरो राजनीतिक यात्रामा काजी बाको योगदान धेरै नै छ उनले भने, उहाँको अवसानले मलाई स्तब्ध पारेको छ ।”

२०३३ सालमा कुँवरबाट नै पार्टी सदस्याता लिएको स्मरण गर्दै उनले भने – ‘मैले उहाँबाट ३३ सालमा पार्टी सदस्याता लिएको हुँ, जतिबेला म गोरखाको आरुघाटमा पढाउदै थिए ।” उनले अघी भने – “अहिले नेपालको राजनीतिक आन्दोलनमा जुन मोड आएको छ यस्तो समयमा उहाँको अवसान निकै पीडादायी र दु:खदायी छ, तर यो शोकलाई शक्तीमा बदल्न प्रेरणा मिल्छ भन्नेमा म विश्वस्त छु ।”

लामो समयदेखि प्रेसर, सुगरलगायतको दीर्घ रोगबाट पीडित कुँवरको पछिल्लो समय निमोनिया र दुवै मृगाैलाले काम गर्न छोडेको थियो । उनी १९८४ साल बैशाख १० गते लम्जुङको खाङ्ग्रे ७ मा जन्मिएका हुन् । २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०३४ सालमा सम्पन्न चौथो महाधिबेशनबाट बैकल्पिक पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए ।

२०४३ सालमा उनी गण्डकी ब्युरोबाट सरुवा भइ नारायणी ब्युरोमा आएका थिए । मजदुर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तीका लागि उनले महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका थिए । उनका दुई छोरा र ४ छोरी छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु