किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि २०७७ स्वीकृत
काठमाडौं – विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ ।
विद्यालयमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन सहयोग पु¥याउने ध्येयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हालै सो कार्यविधि स्वीकृत गरेको हो । पहिलोपटक स्वीकृत कार्यविधिले विद्यालयमा सूचना कर्नरलाई व्यवस्थितरुपमा सञ्चालन गरी किशोरकिशोरीका गुनासा, जिज्ञासा र समस्यालाई समाधान गर्न आवश्यक वातावरण तयार गर्ने उद्देश्य लिइएको छ ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), नेपाल परिवार नियोजन सङ्घ र बृहत् यौनिकता शिक्षा प्राविधिक कार्य समूहले संयुक्तरुपमा केन्द्रलाई कार्यविधि तयार पार्न सहयोग गरेका थिए ।
विद्यालय तहमा अध्ययनरत किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यका विभिन्न जिज्ञासा र समस्याको समाधान गरी उनीहरुका सिकाइ क्रियाकलापमा सक्रिय सहभागिता गराउने र गुणस्तरीय शिक्षामा पुहँच अभिवृद्धि गर्ने ध्येय पनि कार्यविधिको रहेको छ ।
बाल्यवस्था र युवावस्थाबीचको सङ्क्रमणको अवस्था हो–किशोरावस्था । यस्तो अवस्थामा किशोरकिशोरीमा शारीरिक तथा मानसिक परिवर्तन छिटोछिटो हुने र उनीहरु धेरै जिज्ञासुसमेत हुने गर्दछन् । उनीहरुमा यौनिकताको मूल्य तथा मान्यता, यौनका सम्बन्ध, यौन जीवनप्रतिको बुझाइ र समग्र स्वास्थ्यमा सहजता ल्याउन आवश्यक हुन्छ । ती विषयमा उनीहरुलाई सही ज्ञान तथा सीपको विकास गर्न विद्यालयमा अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाइ गर्न किशोरकिशोरी मैत्री सूचना कक्ष सञ्चालनको अवधारणालाई मन्त्रालयले कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्यालयमा बृहत् यौनिकता शिक्षा, प्रजनन स्वास्थ्य र अधिकारका साथै किशोरावस्थामा समग्र स्वास्थ्यसम्बन्धी सामग्रीको उपयोग र अध्ययन गर्न मैत्रीपूर्ण वातावरण सिर्जना गर्र्न कोशेढुङ्गाको काम गर्ने अपेक्षा लिइएको छ ।
कार्यविधि परिचय, नाम, सञ्चालन र व्यवस्थापन, स्थानको छनोट र व्यवस्थापन, सूचना कक्ष सञ्चालनका लागि गर्नुपर्ने कार्य र विविधसहित ६ परिच्छेदको छ ।
कार्यविधिमा के छ त ?
कार्यविधिले विद्यालयमा स्थापना गरिने सूचना कर्नरमा किशोरकिशोरीको पहुँच सुनिश्चितता गरेको छ । “किशोरकिशोरी मैत्री सूचना कर्नर उनीहरुको सहभागिता, अगुवाइ र व्यवस्थापनमा विद्यालयमा सञ्चालन गरिने जीवनोपयोगी सीपमा आधारित बृहत् यौनिकता शिक्षा र सूचनाका साथै किशोरकिशोरीको समग्र स्वास्थ्य प्रवद्र्धन गर्ने सामूहिक कार्यथलो हो ।” कार्यविधिमा भनिएको छ । किशोरकिशोरीको जिज्ञासा, समस्या तथा अनुभूत गरेका असहजतासम्बन्धी सूचना, शिक्षा र परामर्श सहयोगका लागि सूचना कर्नरमार्फत बृहत् यौनिकता शिक्षा सामग्रीको अध्ययन र उपयोग गर्ने, किशोरकिशोरी मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, उनीहरुका लागि बृहत् यौनिकता शिक्षा र ज्ञान तथा जीवनोपयोगी सीप विकास गर्ने, सूचनाकक्ष सञ्चालनको प्रक्रिया र मापदण्ड निर्धारण गर्ने र सूचना कर्नरको संस्थागत विकास र प्रभावकारी उपयोगीका लागि किशोरकिशोरीको क्षमता विकास गर्नेलगायतका मुख्य उद्देश्य पनि कार्यविधिले लिएको छ ।
सूचना कक्षलाई प्रभावकारी एवं दीगो सञ्चालन गर्न वडाध्यक्ष अथवा उहाँले तोक्नुभएको वडासदस्यको संयोजकत्वमा सहजीकरण, सल्लाह र परामर्श व्यवस्थापन समिति गठनको प्रावधान कार्यविधिमा राखिएको छ । व्यवस्थापन समितिका पदाधिकारी, सहजकर्ता र सल्लाहकारका काम, कर्तव्य र अधिकार, बैठक, साथी शिक्षक, साथी शिक्षकको जिम्मेवारी र सूचना कर्नर सञ्चालनका कार्यगत सीमा कार्यविधिभित्र छ । यस्ता कर्नरमा किशोरकिशोरीका मात्र सहभागिता हुनेछ सीमामा छ ।
सूचना कर्नर विद्यालयको पुस्तकालय अथवा छुट्टै कोठमा सञ्चालन गरिने, यस्ता सूचना कक्ष कुराकानी गर्दा गोपनीयता अपनाउन मिल्ने र अपाङ्गतामैत्री हुनुपर्नेछ । यसैगरी कार्यविधिमा सूचना कर्नर सञ्चालनका लागि गर्नुपर्ने काम स्पष्टरुपमा उल्लेख पनि गरिएको छ ।
विद्यालयमा राखिएका गुनासो सुनवाइ पेटिकामा किशोरकिशोरीका यौनिकता शिक्षा तथा समग्र स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा तथा समस्या सङ्कलन हुने व्यवस्था मिलाउनुपर्ने, उनीहरुको यौनिकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, गुनासा, समस्या र जिज्ञासा पेटिकाभित्र खसाल्न प्रोत्साहित गर्ने पनि कार्यबिधिमा समाविष्ट छ ।
विश्वस्वास्थ्य सङ्गठनका अनुसार १० देखि १९ वर्ष उमेर समूहलाई किशोरकिशोरी भन्ने भनिन्छ । पछिल्लो जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणका अनुसार ती उमेर समूहका २८ प्रतिशत किशोरीको विवाह सोही उमेर समूहभित्र भइसक्छ । सो समूहकै १७ प्रतिशतले पहिलो बच्चा पनि सोही उमेर समूहभित्र जन्माइसक्छन् । अर्काेतर्फ १९ वर्ष मुनिका किशोरीको गर्भाधान गर्ने दरप्रति एक हजारमा ८१ रहेका छन् । कम उमेरमा गर्भाधान गर्ने दरलाई कम गर्न किशोरकिशोरी यौन तथा प्रजनन सेवाको पहुँचलाई विस्तार गर्नु जरुरी रहेको छ ।
सूचना कक्षमा राखिएका सामग्री अध्ययन, साथी शिक्षकका प्रशिक्षण, एकापसमा हुने संवाद र छलफलले विशेषगरी ती उमेर समूहका किशोरकिशोरीको स्वास्थ्यलाई सुधार गर्न अह्म भूमिका निर्वाह गर्ने जनाइएको छ । युएनएफपीएको आर्थिक एवं प्राविधिक सहयोगमा सर्लाही, सुनसरी, रौतहट, अछाम, बाजुरा, बझाङ, बैतडी, उदयपुर र पूर्वी रुकुममा बृहत् यौनिकता शिक्षा कार्यक्रम कार्यान्वयन भइरहेको छ । हालसम्म ती जिल्लाका विद्यालयमा १३७ किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालनमा आइसकेको बताइएको छ ।
नेपाल परिवार नियोजन सङ्घका युवा र बृहत यौनिकता शिक्षा कार्यक्रमका वरिष्ठ अधिकृत अनु विष्टले बृहत् यौनिकता शिक्षा प्रवद्र्धन गर्न विद्यालय तहका पाठ्यक्रम समायोजन, शैक्षिक सामग्री उत्पादन, साथी शिक्षकलाई प्रशिक्षण तथा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन कार्यविधि निर्माण र कार्यविधि कार्यान्वयनका काम जारी रहेको जानकारी दिइन् ।
तपाइँको प्रतिक्रिया