चितवनकै पहिलो आकाशे पुलको उद्घाटन, दुर्घटनामा कमि आउने विश्वास
चितवन – पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको टाँडीचोकमा आकाशे पुल निर्माण गरेका हुन् ।पुलको उद्घाटन गर्दै नगर प्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “बृद्धबृद्धाले सडक पार गर्न सकिएन भन्ने गुनासो गर्नुभयो, त्यसैलाई ध्यानमा राखेर पुल निर्माण ग¥यौं ।” नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उहाँले जानकारी दिनुभयो । वनका अनुसार राजमार्गमा तीब्र गतिमा हिड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ ।
यसले सडक दुर्घटनामा कमी ल्याउने उहाँले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख वन, उपप्रमुख बिमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काङ्ग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा नम्बर २ का वडा अध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम वहादुर कुवर र उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
नगरपालिकाका इञ्जिनियर पंकज गिरीका अनुसार ४२.३ मिटर लम्बाई, ५.३ मिटर उचाई, ३ मिटर चौडाईको फलामे संरचनाबाट पुल निर्माण गरिएको हो । भुईमा आरसिसि गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ । उहाँका अनुसार रु.२ करोड ३९ लाख ९२ हजार २ सय ७० को लागतमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणकालागि प्रदेश सरकारले रु.१ करोड सहयोग गरेको छ । सो रकममा नगरपालिकाले रु.१ करोड ६१ लाख ८७ हजार ५ सय ९९ थप गरी बोलपत्र आव्हान गर्दा रु.२ करोड ४२ लाख १४ हजार ५ सय ३३ मा हिम सगरमाथा कन्ट्रक्सनले सकार गरेको थियो । मूल्यांकनका क्रममा केही रकम घटेको उहाँले जानकारी दिनुभयो । वि. सं. २०७६ साल फागुन २ गते असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरि ठेक्का लगाइएको भए पनि कोभिडका कारण पुस मसान्त सम्मका लागि समय थप गरिएको थियो ।रत्ननगर नगरपालिका पर्यटकीय क्षेत्र सौराहा सहित समेटिएको नगरपालिका हो ।
तपाइँको प्रतिक्रिया