चितवन भित्रियो कोरियन ब्राण्डको स्याङयोङ गाडी
चितवन – चितवनमा कोरियन ब्राण्डको स्याङयोङ गाडीको शो रुम सञ्चालनमा आएको छ । स्याङयोङको चितवनका लागि आधिकारिक बिक्रेता म्याक्सवेल मोटर्स आज (शनिबार) बाट सञ्चालनमा आएको हो । शो रुमको उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई. भोजराज कौडेलले उद्घाटन गरे ।
शो रुमको उद्घाटन गर्दै ई. कौडेलले गाडी बिक्रीसँगै ग्राहकलाई दिने सेवा सुविधामा पनि जोड दिन आग्रह गरे । अधिकांश शो रुमले गाडी बिक्रीपछि ग्राहकलाई सन्तुष्ट हुने गरी सेवा नदिने गुनासो बढ्दो रहेकोले ग्राहकको सन्तुष्टिमा ध्यान दिन उनले आग्रह गरे । उनले चितवनमा आरामदायी गाडी चढ्नेहरुको संख्या बढीरहेको बताउदै शो रुमको सफलताको कामना गरे । उनले स्याङयोङ चितवनका लागि उपयुक्त हुने समेत बताए ।
नेपालका लागि स्याङयोङको अधिकारिक बिक्रेता आइएमएस ग्रुपका सञ्चालक दीपेश कायस्थले व्यवसायीक ब्यक्तीहरुलाई मध्यनजर गर्दै स्याङयोङ ६ वर्ष अघी नेपाल भित्र्याइएको बताए । कोरियाको नम्बर १ ब्राण्डको उक्त गाडीको शो रुम काठमाडौं, बुटवल, भैरहवा हुँदै चितवनमा पनि सञ्चालनमा ल्याइएको कायस्थले बताए ।
म्याक्सवेल मोटर्सका सञ्चालक हरिप्रसाद पन्तले स्याङयोङको चितवनमा पहिलो पटक शो रुम सञ्चालनमा ल्याइएको बताए । पन्तले गाडी बिक्रीसँगै ग्राहकको सन्तुष्टिमा बिशेष जोड दिने प्रतिवद्धता जनाए । उनले गाडी बिक्री गर्नु मात्र आफुहरुको स्वार्थ नरहने बताए ।
उनले ग्राहकलाई सर्भिस लगायतका सबै सेवा दिन आफुहरु नचुक्ने बताए । यस्तै शो रुम शुभरम्भको अवसरमा पहिलो एक सातासम्म गाडी खरिद तथा बुक गर्ने ग्राहकलाई १० लाखसम्म छुट दिइने जानकारी दिए । स्याङयोङको ७० लाख देखि १ करोड ५० लाखसम्मका बिभिन्न मोडलका गाडीहरु उपलब्ध छन् ।
तपाइँको प्रतिक्रिया