नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी
काठमाडौं – नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडिया नवभारत टाइम्सले दाबी गरेको हो ।
तर नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने पाइपलाइनमा आक्रमण भएको जानकारी भएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको बताए । पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन । तर सो पाइपबाट हरेक दिन हजारौं लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ।
खेतमा डिजल बग्न थालेपछि पेट्रोलियम पाइपलाइनबाट चोरीको घटनाबाहिएकाे हाे । पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । २०७६ भदै २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फरेन्स’मार्फत उद्घाटन गरेका थिए ।
तपाइँको प्रतिक्रिया