भरतपुरको बाइपासरोड विस्तार: निर्माण कम्पनीलाई १ करोड बढी जरिवाना हुने

एटुजेड समाचार

सुशील पन्त,

चितवन – भरतपुरको बाइपास रोड सडक विस्तारका लागि पछिल्लो पटक थप गरिएको म्याद पनि सकिएको छ । कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पौष मसान्तसम्म म्याद थप गरिएको थियो । तर सडक विस्तारको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा कम्पनिले अहिलेसम्म जम्मा ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

पाँचौ पटक म्याद गर्दा पनि काम सम्पन्न नभएपछि निर्माण कम्पनिलाई जरिवाना हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख ईन्जिनियर कृष्णराज अधिकारीले अब भने निर्माण कम्पनिलाई म्याद थप नहुने बताए । अधिकारीका अनुसार पाँचौ पटक म्याद गर्दा पनि काम नसकिएकोले निर्माण कम्पनिलाई जरिवाना हुनेछ । “अब पनि म्याद थप भन्ने चाँही हुँदैन उनले भने, सम्झौता अनुसार निर्माण कम्पनिलाई अब स्वत: जरिवाना हुन्छ ।”

निर्धारित समयमा काम सम्पन्न नगर्ने कम्पनीलाई शुन्य दशमलव ५ देखि १० प्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । ठेक्का सम्झौता रकम अनुसार ठेकेदार कम्पनिलाई जरिवाना हुने ईन्जिनियर अधिकारीले बताए । जस अनुसार गौरी पार्वती निर्माण सेवा कम्पनिलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने उनले जानकारी दिए ।

अधिकारीका अनुसार ठेकेदार कम्पनीले जरिवाना तिरेर म्याद सकिएको २ सय दिनसम्म काम गर्न पाउँछ । उक्त अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुन्छ । “काम रोक्ने कुरा हुँदैन, त्यसैले जरिवाना गरेर कामलाई निरन्तरता दिइन्छ उनले भने, तर जरिवाना तिरेर म्याद सकिएको २ सय दिनसम्म पनि काम सकिएन भने चाँही सम्झौता रद्ध गर्नुपर्ने हुन्छ ।”

काम जती ढिला भयो जरिवाना त्यती नै थप हुँदै जानेछ । पौषमा म्याद सकिएकोले ढिलोमा अबको २ सय दिन भित्र निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने हुन्छ । “अबको २०० दिन भित्र काम सम्पन्न भइसक्नु पर्छ उनले भने, काम जती ढिला भयो जरिवाना त्यती नै थप हुँदै जान्छ ।”

२०७३ चैत्र ९ गतेदेखी शुरु भएको सडक बिस्तारको काम २०७४ चैत्र १८ गतेसम्म सम्पन्न भईसक्नु पर्ने थियो । १५ महिनामा सक्नुपर्ने काम ४ वर्ष पुगिसक्दा पनि अझै पुरा भएको छैन । यस अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको छ । उक्त सडक विस्तारका लागि गौरी पार्वती निर्माण सेवा कम्पनिसँग २ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको थियो । ठेकेदारको चरम लापरबाहीले काम सम्पन्न गर्न ढिलाई भएको भन्दै चौतर्फी गुनासो बढीरहेको छ ।

शुरुमा आँपटारीदेखि केन्द्रिय बसपार्क सम्मको ४ दशमलव ४ किलोमिटर सडकलाई २ लेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो । तर सवारी चापलाई मध्यनजर गर्दै चार लेनको बाटो बनाउन लागिएको हो । सोही अनुसार अहिले भरतपुर केन्द्रीय बस टर्मिनलदेखि बिशालचोकसम्मको २ दशमलव २ किलोमिटर सडक ४ लेनको बनाइदैछ । सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुनेछ, जसमा १४ मिटर पिच रहनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु