आज नेपाल-भारतका परराष्ट्र मन्त्रीको बैठक, कोरोना भ्याक्सिनदेखि सिमाका विषयमा छलफल हुने
काठमाडौं – नेपाल र भारतका परराष्ट्र मन्त्रीहरूले नेतृत्व गर्ने संयुक्त आयोगको छैठौं बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ। गत वर्षको लिपुलेक-लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो।
बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नै नयाँदिल्ली पुगिसकेका छन्। भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन्। भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुनेछ । बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने ओडारीले बताए।
आजको बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ। भारतीय पक्षले खोप कसरी दिने भन्नेबारे बताउने अपेक्षा गरिएको छ। भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन आफ्नै देशमा उत्पादन गरिरहेको छ।
संयुक्त आयोगको बैठकमा लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन। भारतीय पक्षले यसअघि बिहीबार सीमा विवादबारे कुरा गर्ने अर्कै संयन्त्र रहेको बताएको छ।
तपाइँको प्रतिक्रिया