रगत, खकार र डिएनए जाँचेर मात्र ओलीले ‘हनुमान’ बनाउँछन्: माधव नेपाल
काठमाडौं – नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमानी भनेका छन्। उनले प्रधानमन्त्री ओली झूटो बोल्ने मानिस भएको पनि आरोप लगाएका छन्। काठमाडौंमा आज आफू पक्षका नेता-कार्यकर्ताको भेलामा बोलेका अध्यक्ष नेपालले ओलीमा इमान्दारिता भन्ने चिज नै नभएको बताए।
‘उहाँले मैले कुनै पनि नियुक्ति गरेको छैन भनेर पार्टीमा भन्नुभयो। तर उहाँ बेइमान हुनु हुँदो रहेछ। झूटो बोल्नुभयो। कमिटीलाई पटक/पटक ढाँट्नुभयो। उहाँ ढटुवा पनि हो। उहाँमा इमान्दारिता नामको चिज छैन,’ उनले भने। ओलीले कार्यकर्ताको मूल्यांकन गर्दा रगत, खकार र डिएनए टेष्ट पनि गर्ने गरेको उनको भनाइ थियो।
‘केपी ओली कार्यकर्ताको मूल्यांकन गर्दा पहिले रगतको जाँच गर्नुहुन्छ। खकारको जाँच गर्नुहुन्छ। अनि रगत र खकारले पुगेन भने डिएनए टेष्ट गर्नु हुन्छ,’ उनले थपे, ‘त्यसको आधारमा आफूसँग मिल्यो भने बल्ल जिम्मेवारी दिनुहुन्छ। डिएनए टेष्टमा पास भएका मानिस रेल्वे बोर्डमा जिएम बन्छन् अनि सबै ठाउँमा नियुक्ति पाउँछन्।’ उनले अघी भने ‘ती ब्रान्डका मानिस सबै ठाउँमा फेला पर्छन्। तिनै ब्रान्डका मानिस केपी ओलीका ‘हनुमान’ हुन्छन् दास हुन्छन्। हामी ओलीका दास होइनौं ।’
तपाइँको प्रतिक्रिया