चितवन – चितवनको भरतपुर महानगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । नगरसभा मार्फत महानगर प्रमुख रेनु दाहालले महानगरकै लगानीमा दर्जनौं आयोजना निर्माणाधिन रहेको जानकारी दिएकी छिन् ।
दाहालले ति आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका बताएकी छिन् । कोभिड १९ का कारण केही असर देखिएपनी आयोजनाका कामहरु धमाधम भइरहेको उनको भनाई छ । केही आयोजना अन्तिम चरणमा पुगेका तथा अन्य केही अबको दुई वर्षमा सम्पन्न हुने उनको दाबी छ ।


यि हुन् महानगरको आफ्नै लगानीमा सञ्चालित गौरवका आयोजनाहरु :
भरतपुर मेट्रो प्लाजा
भरतपुर महानगरपालिका ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ ।
निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला
देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ ।
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला
क्रिकेट रङ्गशाला परिसरमा हालै राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ । यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ ।
खानेपानीतर्फ
जखडीमाई खानेपानी आयोजना
नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी (लिफ्टिङ्ग) आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन् । यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने महानगर प्रमुख रेनु दाहालको अपेक्षा छ ।
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । अहिलेसम्म ३०० छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम
सामुहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि, रोजगारी सृजना तथा आयात प्रतिस्थापन हुने विश्वास लिइएको कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ । यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन् ।
नारायणी नदी किनारलाई सीबीच मोडेलमा विकास गर्ने
भरतपुर महानगरपालिका १ र ३ को नारायणी नदी किनारलाई सीबीच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि गत आर्थिक वर्षमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको छ । यस्तै चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ ।
सीबीच मोडेलमा निर्माण हुने नारायणी नदी किनार
यातायात कार्यालय स्थापनासम्बन्धी कार्य
यातायात कार्यालयको स्थापनाको लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण अघी बढेको छ । यातायात कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
यस्ता छन् थप आयोजना :
हुलाकी सडक
हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मि। सडकलाई ७ मि। कालोपत्रे बनाउने र बाँकी ९ कि।मि। सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।
भरतपुर विमानस्थल
भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यक समेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ । यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिइएको छ ।
चौबिसकोठी मेघौली सडकखण्ड ९सहायक राजमार्ग
चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ । साथै चनौली ९मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ ।
सिटी हल
महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहलका लागि ८८ करोड सघन शहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ ।
पुल्चोक गोन्द्राङ ६ लेन सडक
सडक विभागबाट निर्माणाधिन यस सडकको रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ । यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुने बताइएको छ । यस्तै शहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रु ३१ करोडको काम अन्तिम चरणमा पुगेका छन् ।
स्मार्ट सडकबत्ती
महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रु २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी प्रारम्भ भइसकेको छ ।
महानगररीय रिङरोड
करिब ९५ किलोमिटर महानगरीय रिङ्गरोडको लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ । सडक विभागबाट यही आर्थिक वर्षमा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ । रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ ।