तीन वर्षमा भरतपुरको १८५ किलोमिटर सडकमा नयाँ कालोपत्रे
चितवन – चितवनको भरतपुर महानगरपालिकाले तीन वर्षमा करिब १८५ किलोमिटर सडकमा नयाँ कालोपत्रे गरेको छ । तीन वर्षको अवधिमा साना ठुला गरी १८५ किलोमिटर सडकमा कालोपत्रे गरिएको महानगरले जनाएको छ ।
सोही अवधिमा १७५ किलोमिटर पिच मर्मत र पुन: पिच गरी मर्मत गरिएको महानगरले जनाएको छ । प्रदेश र संघीय बजेटबाट ९० किलोमिटर सडक पिच भएको तथा २१ किलोमिटर पिच मर्मत गरिएको पनि महानगरले जनाएको छ । यसरी तीन वर्षमा महानगरभित्र ४७० किलोमिटर सडकमा कालोपत्रे भएका छन् ।
यस्तै तीन वर्षको अवधिमा महानगरले २ किलोमिटर बाटोमा सडक पेटी तथा १३ किलो मिटर सतह ढल निर्माण गरेको मेयर रेणु दाहालले जानकारी दिईन् । दाहालका अनुसार ७ किलोमिटर बाटोमा मोज्याक टायल बिछ्याइएको छ भने मध्यवर्ती सामुदायिक वनको जंगली जनावरको आक्रमणबाट जोगाउन ३ किलोमिटर पीसीसीसहित मेसजाली लगाइएको छ ।
महानगरभित्र ९५ किलोमिटर रिङ्गरोड र लिङ्करोड कामको सुरुवात गरी यसै आर्थिक वर्षबाट गरिएको छ । जस अन्तर्गत १ अर्ब ५६ करोडको बजेटमा १० किलोमिटर रिङरोड र ६५ लिङ्करोड निर्माणको काम भइरहेको छ । अन्य स्थानमा ईआईए र डिपिआर तयार भइ यसै आर्थिक वर्षभित्र टेन्डरमा जाने तयारी भइरहेको छ ।
यस्तै १ अर्ब ९८ करोड ७३ लाखको लागतमा पुलचोकदेखि गोन्द्र्याङसम्म हरियालीसहितको सडक, फुटपाथ र सर्भिस ट्र्याक निर्माणको काम शुरु भएको छ भने चौबिसकोठी-चनौली-मेघौली सडक सहायक राजमार्गको पनि स्तरोन्नती गरिएको छ ।
तपाइँको प्रतिक्रिया