चितवनमा घरबाटै बढ्दो मोटरसाइकल चोरी, पल्सरमै चोरको नजर बढी
सुशील पन्त,
चितवन – के तपाई घरमा मोटरसाइकल पार्किङ गरेर ढुक्क साथ बसिरहनु भएको छ ? होस् गर्नुहोस्, तपाईको मोटरसाइकल चोरी हुन सक्छ । चितवनमा पछिल्लो समय घरबाटै मोटरसाइकल चोरीको घटना बढेको छ । घरभित्रै पनि मोटरसाइकल असुरक्षित हुन थालेका छन् ।
घरसँगै बजार तथा बिभिन्न कार्यक्रम स्थलमा पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल चोरी हुने क्रम पनि बढ्दो छ । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ४८ वटा मोटरसाइकल चोरीको उजुरी परेको छ । यि मध्य २७ वटा घरबाट नै चोरी भएका हुन्। जिल्ला प्रहरी कार्यालयको यो तथ्याङ्कले जिल्लामा घरबाटै मोटरसाइकल चोरी हुने क्रम बढेको देखाउछ ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापा घरबाटै मोटरसाइकल चोरी हुने क्रम बढेको बताउछन्। चोरीमा संलग्न गिरोहले मोटरसाइकलमाथि निगरानी राख्ने र उचित मौका छोपेर चोरी गर्ने गरेका छन् । डिएसपी थापा चोरहरुले मोटरसाइकल अनुसारको नक्कली चाबी बनाउने र रातीको समय तथा मान्छे नभएको मौका छोपेर चोरी गर्ने गरेको बताउँछन् ।
कहाँ लुकाउने भन्ने योजना बनाएर उनिहरुले चोरी गर्छन् । “चोर्नु भन्दा अगाडि निरन्तर निगरानी राख्छन् उनले भने, उनिहरुले कहाँबाट चोरेर कहाँ लगेर लुकाउने भनेर एरिया छुट्टाउछन् अनी चोरी गर्छन् ।” प्रहरी कार्यालयमा दर्ता हुने उजुरीका अनुसार धेरै जसो बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरी हुने गरेको छ । चालु आर्थिक बर्षमा अहिलेसम्म ४८ वटा मोटरसाइकल मध्य २७ वटा बजाजको पल्सर चोरी भएका छन् । पल्सरमा पनि बिशेषगरी २०० सिसी र एन एस २०० बढी चोरी हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
बजारमा पल्सरको माग बढी रहेको चोरहरुको नजरमा पल्सर २२० सिसी र एनएस २०० नै बढी पर्ने गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङ बताउँछन् । गुरुङ मोटरसाइकल पार्किङ गर्दा चेन लक, व्हिल लक गर्न सुझाउँछन् । घरबाटै मोटरसाइकल चोरी हुने क्रम बढेकोले घरमा मोटरसाइकल पार्किङ गर्दा पनि चेन लक तथा व्हिल लक गर्न उनको सुझाव छ । चोरेका मोटरसाइकलको तुरुन्तै नम्बर प्लेट फेर्ने र नक्कली कागजपत्र बनाएर जिल्ला बाहिर बिक्री गर्ने गरेको पाइएको उनले बताए । यस्ता चोरीको घटना नियन्त्रणका लागि सिसीटिभीबाट निगरानी बढाउनुपर्ने उनले बताए ।
बर्षेनी ठुलो संख्यामा मोटरसाइकल हराउने गरे पनि थोरै मात्र फेला पर्ने गरेको छ । यसले मोटरसाइकल चोरीको घटना नियन्त्रणमा चुनौतीको थपेको छ । चालु आर्थिक वर्षमा चोरी भएका ४८ वटा मोटरसाइकल मध्य अहिलेसम्म २२ वटा मात्र फेला परेका छन् । यो तुलनात्मक रुपमा गत आर्थिक वर्ष २०७६-७७ भन्दा भने धेरै हो । गत आर्थिक वर्षमा चोरी भएका ७५ मध्य जम्मा १० वटा मोटरसाइकल मात्र फेला परेको थियो ।
यस्तै चालु आर्थिक वर्षमा फेला परेका २२ वटा मध्य १६ वटा मोटरसाइकल सम्बन्धित मोटरसाइकल धनीलाई फिर्ता गरिएको छ । अन्य ६ वटा मध्य केही फिर्ता गर्ने प्रकृयामा रहेको तथा केही मोटरसाइकल धनी सम्पर्कमा नआएको प्रहरीको भनाई छ । यस्तै चालु आर्थिक वर्षमा हालसम्म मोटरसाइकल चोरीमा संलग्न १८ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा जम्मा १३ जना पक्राउ परेका थिए ।
कतिपय अवस्थामा प्रहरी आँफै ग्राहक बनेर चोरीमा संलग्न व्यक्तीहरु पक्राउ गर्ने गरेका छन् । केही दिन अघी मात्र प्रहरीले आँफै ग्राहक बनेर एक जनालाई पक्राउ गरेको थियो । गत पौष २० गते भरतपुर १० स्थित अष्टभुजा पेट्रोलपम्प पछाडीबाट प्रहरीले आँफै ग्राहक बनेर २२० सिसीको पल्सरसहित चोरीमा संलग्न भरतपुर ९ शरदपुर बस्ने वर्ष २१ का मेलान सुनारलाई पक्राउ गरेको थियो । ग्राहक बनेर पुगेका प्रहरीलाई सुनारले उक्त २२० सिसिको पल्सर बार्गेनिङपछि ३० हजारमा दिन तयार भएका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गर्यो र थप सोधपुछपछि सोही गिरोहका अन्य ३ जना र उनिहरुको साथबाट थप २ वटा मोटरसाइकल र एउटा स्कुटर समेत बरामत गरेको थियो ।
मोटरसाइकल चोरीको उजुरी परे लगत्तै निवेदकले पठाएको फोटो र मोटरसाइकलको सम्पूर्ण विवरणसहित मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरेर खोज तलास गरिने चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङ बताउँछन् । खोज तलासको लागि प्रहरीको छुट्टै चोरी शेल छ ।मोटसाइकल चोरीमा संलग्नलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।
तपाइँको प्रतिक्रिया