हेटौँडा नारायणगढ सडकमा बस दुर्घटना : एकको मृत्यु, आठ घाइते

मकवानपुर – हेटौँडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा दिउँसो यात्रुवाहक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भएर बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । त्यही दुर्घटनामा परेर अन्य आठ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको पूरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक चितवनको राप्ती नगरपालिका–२ बस्ने ४१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइँको प्रतिक्रिया