चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको सिफारिसको विरोध गर्नुपर्ने बताएका छन् ।
संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको दावी गर्दै त्यसको सशक्त विरोध गर्नुपर्ने बताएका उन् । उनले चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिँदै यसको सशक्त विरोध गर्न आग्रह गरेका हुन् ।
दुई तिहाइ बहुमत पार्टी कमिटीमा जोसँग रहेको छ, त्यही नै मुल पार्टी हुने बताउँदै उनले विगतका नजिर र आफूहरूले पेस गरेका प्रमाणलाई हेरेर निर्वाचन आयोगले निर्णय गर्ने उल्लेख गरे । नेता खनालले संविधानले परिकल्पना नै नगरेको संसद विघटनको सिफारिस अदालतले अवैधानिक फैसला गर्ने बताए ।
बागमती प्रदेसका संसद समेत रहेका खनालले पार्टी केन्द्रीय समितिको निर्णय बमोजिम चितवनका ७ वटा तहमा महानगर, नगर र गाउँपालिका र ती सबै पालिकामा १६ र १७ गते सम्म भेला, कमिटी पुनर्गठन र बैठक बसिसक्नुपर्ने बताए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले पार्टीलाई सिध्याउन केपी ओली र उनको समूह लागिपरेको बताउँदै संसद विघटन र पार्टी कमिटीको विधान विरोधी गतिविधि यसको ज्वलन्त प्रमाण रहेको बताइन् ।